अमेरिका, बेलायत, स्पेन, फ्रान्स, अष्ट्रेलिया लगायतको देश घुम्ने र बस्ने रहर सबैको हुन्छ । अर्जुनचौपारी गाउँपालिका –३ सिरिण्डाडाका ५८ वर्षीय हिमलाल पौडेल २८ वर्षसम्म १५ देश घुम्नुभयो ।
एक छोरा र तीन छोरी अमेरिका पठाइ सकेपछि अमेरिका जान छाडेर पौडेलले सुन्तला खेतीमा जुट्नु भएको हो । छोराछोरीको जिम्मेवारी सकिएपछि आफ्नै जन्मभूमिमा केही गर्छु भनेर गाउँ आएको र कृषि तथा पशुपन्क्षीमा सम्भावना देखेर तीन वर्ष पहिला आँधीखोला कृषि तथा पशुपन्क्षी फर्म दर्ता गरेर यसमै होमिएको पौडेलको भनाइ छ ।
उहाँले ३० रोपनी जग्गा ३० वर्षका लागि बन्धकी र अन्य आफ्नै जग्गा गरेर ९६ रोपनी जग्गामा दुई चरणमा दुई हजार ७१० वटा सुन्तलाका बिरुवा लगाउनु भएको हो ।
आँधा जति बाँझो जग्गाको रुखहरू काटेर र खेतीयोग्य योग्य जग्गामा उहाँले सुन्तला लगाउनु भएको हो । अहिले बिरुवा हुर्कँदै गएको उहाँले बताउनुभयो । प्रविधिमैत्री क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई (सुन्तला सुपरजोन) को ५० प्रतिशतको ६ लाख अनुदान सहयोगमा सुन्तला लगाउनु भएको छ ।
आफ्नो कार्यालयको क्षेत्र बिस्तार गर्ने योजना अन्तर्गत सहयोग गरेको बताउँदै कार्यालयका प्रमुख माधव लम्सालले काम राम्रो रहेको बताउनुभयो । उहाँले सुन्तलासँगै १० वटा भैँसी समेत पाल्नु भएको छ । एकसय रुपियाँ प्रतिलिटर दुध र एक हजार चारसय रुपियाँ लिटरमा घ्यु बिक्री गर्नुहुन्छ ।
रुख काटेर सुन्तला
फेदीखोला गाउँपालिका–२ मा बाँझो जग्गाको रुख काटेर सामूहिक सुन्तला खेती गरिएको छ । यहाँका २५ जना कृषकले रुख काटेर दुई हजार ७४० बिरुवा रोपेको बताउँदै समूहका अध्यक्ष शिवप्रसाद गौतमले सुन्तला खेती सुरु गरेसँगै बन्द घरहरू समेत खुलेको बताउनुभयो ।
परियोजना कार्यान्वयन इकाई (सुन्तला सुपरजोन) ले फेदीखोला –१ को नैबु, भीरकोट –५, ७, ८, पुतलीबजार –१०, ११, १२, वालिङ –४, गल्याङ–७, हरिनाश–५, चापाकोट–६ लगायतका एकसय हेक्टर क्षेत्रफलमा प्रविधिमैत्री क्षेत्र बिस्तार कार्यक्रममार्फत सुन्तला लगाइएको छ ।