स्याङ्जालाई पत्रकारिताको थलो बनाई लामो समयदेखि पत्रकारिता पेशामा क्रियाशिल प्रेस स्वतन्त्रता सेनानी ओमप्रकाश शर्मालाई इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशनद्धारा पोखरामा आयोजित एक विशेष समारोहमा अन्तर्राष्ट्रिय गौरव अभियान पुरस्कारबाट सम्मानित गरिएको छ ।
पत्रकारिताका माध्यमबाट जनमत निर्माण र समाज परिवर्तनमा महत्वपूर्ण योगदान दिएबापत भारतीय केन्द्रीय प्रहरी संगठनका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. नितेश हरिद्धाज र नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संयुक्त रुपमा पत्रकार शर्मालाई सम्मानित गर्नुभएको हो ।
पत्रकार शर्मासंगै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत गण्डकी प्रदेश अन्तर्गत जिल्लाहरुका विभिन्न विधामा क्रियाशिल अन्य १५ जनालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ ।
पुरस्कार तथा सम्मान प्रदान गर्दै समारोहका प्रमुख अतिथी डा. नितिश हरिद्धाजले सदियौं पुरानो नेपाल भारत सम्बन्ध सवल र सुदृढ बनाउन नागरिक स्तरमा नेपाली जनताले खेलेको सकारात्मक भूमिकाको प्रशंसनीय रहेको बताउनुभयो ।
यसैगरी, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भारतीय स्वतन्त्रता संग्राममा नेपाली सपूतहरुले खेलेको महत्वपूर्ण भूमिका र नेपालमा राणा शासन अन्त्य गर्न र प्रजातन्त्र स्थापनामा भारतीयहरुको सहयोग अविश्मरणीय रहेको बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष संजय गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशन नेपालका प्रमुख युवराज आचार्यले स्वागत एवं सुष्मा प्रसाईले संचालन गर्नुभएको थियो ।