Syangja Dainik Media
पुतलीबजारको रमणीय हुनिकोट

नेपालका धेरै ठाउँहरूमा पर्यटकको आकर्षण बढ्दो छ । यस्तै ठाउँहरूमध्ये पछिल्लो समय स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित हुनिकोट पनि एक हो । लामो समयको बन्दाबन्दी र घरमै थुनिएर बस्दाको दिक्दारीलाई पन्छाई रमाइलो गर्नेेहरूका लागि यो ठाउँ उपयुक्त हुन सक्छ ।

समुन्द्री सतहदेखि एक हजार १२० मिटरको उचाइमा रहेको हुनिकोटमा गुरुङ समुदायको बाहुल्य छ । त्यसैले यहाँ घुम्न जाँदा गुरुङ संस्कृतिमा रमाउन पाइन्छ । गुरुङ समुदायका विभिन्न परिकारको स्वाद चाख्न पाइन्छ । अनि रोधी र सालैजोमा कम्मर मर्काउन पाइन्छ ।

Ismt_Pokhara

यस ठाउँले पर्यटकीय गन्तव्यको पहिचान बनाएको धेरै भएको छैन । तर, थोरै समयमा नै पर्यटकीय क्षेत्रका रूपमा यसले चर्चा बटुलेको छ । पर्यटकका लागि स्थानीयवासीले हुनिकोट सामुदायिक होमस्टे नाम दिएर आधा दर्जन घरमा होमस्टे पनि सञ्चालन गरेका छन् । 

पर्यटकको आकर्षण बढिरहेकाले अब अन्य घरमा पनि होमस्टे सञ्चालन गर्ने तयारी गरिरहेको होमस्टे सञ्चालकहरूले बताए । बाह्यभन्दा पनि आन्तरिक पर्यटकको भीडभाड हुने यस स्थानमा स्याङ्जासहित कास्की, पर्वत, पाल्पालगायतका जिल्लाबाट दैनिक एक सयदेखि १५० जनासम्म पर्यटक पुग्ने गरेका छन् ।

होमस्टेमा रमाउन पुग्नेहरूका लागि सस्तोमा ‘प्याकेज’ सेवा उपलब्ध गराइएको छ । यो सेवा एक रातका लागि प्रतिव्यक्ति आठ सयदेखि एक हजार रुपियाँसम्म पर्छ । यसमा दिउँसोको खाजा, चिया, बेलुकीको खाना र बिहानको खाजा उपलब्ध हुन्छ । ट्रेकिङमा गएर पनि यहाँ रमाउन पाइन्छ । होमस्टेको कुरा गर्दा नेपालमै पहिलोपटक स्याङ्जाकै दरौँ सिरुबारीबाट होमस्टे सुरु भएको हो । यस होमस्टेलाई दक्षिण एसियाकै नमुना मानिन्छ ।

स्याङ्जा सदरमुकामबाट साढे दुई किलोमिटरको दूरीमा यो ठाउँ रहेको छ । नगरपालिकामा पर्ने भएर पनि यहाँ पुग्न स्तरीय सडकको व्यवस्था नहुँदा पर्यटन प्रवद्र्धनमा भने कठिनाइ परेको स्थानीयवासीको गुनासो छ ।

यस स्थानमा रहेको ‘भ्यु पोइन्ट’बाट देखिने स्याङ्जा बजार, आँधिखोला नदी र हिमालसहितका दृश्यले सबैको मन लोभ्याउँछ । कालिका देवी मन्दिर, शिव गुफा, कुहिरोको समुद्र (ह्वाइट लेक) को दृश्यावलोकनले सबैलाई मोहित बनाउँछ ।
प्याराग्लाइडिङ उडानका लागि स्वीकृत भएका जिल्लाका छ स्थानमध्ये हुनिकोट पनि एक हो । यहाँबाट प्याराग्लाइडिङको परीक्षण उडान पनि सफल भइसकेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update