Syangja Dainik Media
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई

अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सवको उपाधि पञ्चकन्या माध्यामिक विद्यालयले जितेको छ ।

२२ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित पञ्चकन्या माविले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । यस अघि पनि पहिलो राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्याले नै जितेको थियो ।

आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा उपविजेता घण्टे माविले  ९ स्वर्ण, ९ रजत र ५ कास्य पदकसहित २३ पदक हासिल गरेको छ । तेस्रो बनेको अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक गरि १५ पदक र चौथो अमरज्योति माविले ४ स्वर्ण, ४ रजत र १० कास्यसहित १८ पदक प्राप्त गरेको छ ।

Ismt_Pokhara

पालिकाको खेलमैदानमा बिहीबारदेखि सुरु भएको महोत्सवमा छात्र-छात्राबिच चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य,  विभिन्न दुरीमा दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, डोरी तान्ने र भलिबल प्रतियोगिता गरिएको थियो ।

विजेता तथा उपविजेता खेलाडीलाई प्रतिनिधि सभा सदस्य राजु थापाले रनिङ शिल्ड तथा मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरु गरि ३३ विद्यालयका विद्यार्थीहरुको सहभागी रहेको थियो ।

यसैगरी, शैक्षिक प्रगति मूल्यांकनमा आरुचौरको घण्टे मावि सर्वोत्कृष्ट स्थान हासिल गरि एक लाख रुपियाँ नगदसहित पुरस्कृत भएको छ । उत्कृष्ट बन्दै रापाकोटको जन माविले पचास हजार रुपियाँ नगद, आधारभूत तहमा गणेश आवि र गाउँफर्क आवि (१-५) सर्वोत्कृष्ट बन्दै ५०-५० हजार, सूर्योदय आवि आरुचौर (१-३) पचास हजार नगदसहित पुरस्कृत भएका छन् ।  

घण्टे माविकी छात्रा विनिता पालिका सर्वोत्कृष्ट खेलाडी

binita-pic--(1)-1732509761.JPG

अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सव -२०८१ मा घण्टे माविकी छात्रा विनिता क्षेत्री पालिका सर्वोत्कृष्ट खेलाडी बनेकी छन् ।

अर्जुनचौपारी -५ घण्टे माविमा कक्षा -११ मा अध्यनरत विनिता क्षेत्रीले आफूले प्रतिस्पर्धा गरेको पहिलो प्रतियोगितामा आठ पदक जितेकी हुन् ।

गाउँपालिकाले आयोजना गरेको उक्त महोत्सवमा पहिलो पटक सहभागी क्षेत्रीले चार स्वर्ण, दुई रजत र दुई कास्य पदक हासिल गरेकी थिइन् ।

उनले १०० मिटर दौड, १०० मिटर रिले, भलिबल र लङजम्पमा स्वर्ण पदक हासिल गरेकी थिइन् । ४०० मिटर रिले र २०० मिटर दौडमा रजत पदक जित्न सफल क्षेत्रीले कबड्डी र त्रीपलजम्पमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

पर्वतको महाशिला गाउँपालिका -६ घर भई घण्टेमा अध्यनरत क्षेत्रीले यसभन्दा पहिला खेलकुदमा सहभागी नभएको बताउँदै पहिलो पटकको सहभागितामा पालिकाको सर्वोत्कृष्ट खेलाडी बन्दा खुसी व्यक्त गरेकी थिइन् । यसैबाट प्रोत्साहित क्षेत्री अब निरन्तर खेलकुदमा लाग्ने बताइन् ।

यसैगरी, अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सव -२०८१ मा पञ्चकन्या माविका हित बहादुर क्षेत्री र बिनिसा जीसी पनि उत्कृष्ट भएका छन् ।

गाउँपालिकाले आयोजना गरेको उक्त महोत्सवमा हित बहादुर क्षेत्रीले सात स्वर्ण र एक रजत पदक प्राप्त गरेका थिए । उनले १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५०० मिटर दौड, १०० मिटर रिले, ४०० मिटर रिले र डोरी तान्ने प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए भने कबड्डीमा रजत पदक जितेका थिए ।

त्यस्तै, बिनिसा जीसीले तीन स्वर्ण र एक कास्य पदक हासिल गरेकी थिइन् । उनले २०० मिटर दौड, ४०० मिटर रिले दौड र लङजम्पमा स्वर्ण पदक हासिल गरेकी थिइन् भने १०० मिटर रिलेमा कास्य पदक जितेकी थिइन् ।

यस्तै, अमरज्योति मावि मार्चपासमा उत्कृष्ट विद्यालय घोषणा भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update