शक्तिपीठमा चिनिने स्याङ्जाको आलमदेवी, गहौँकोट, नुवाकोट, खिलुङ्गकोटमध्ये सबैभन्दा पुरानो सतौँकोट (चण्डीस्थान) मानिन्छ ।
सतौँकोट वि.स. ८६५, शाह वंशको कुल देवता मन्दिर आलमदेवी विस १३५० मा स्थापना भएको मानिन्छ । गहौँकोट विस १४१५ मा स्थापना भएको मानिन्छ ।
पुतलीबजार नगरपालिका-१४ मा रहेको सतौँकोट मन्दिरलाई १७७० मा राजा दीर्घराज शाहीले पुनर्निर्माण गरी ढुङ्गाले छाउने काम गर्नुभएको थियो । यहाँ शिरबम शाही, दीर्घवम शाही, चामु शाही, तुला शाही, बहादुर शाही, छत्र शाही, पृथ्वीपति शाही, दावनल शाहीहरूले राज्य गरेको इतिहास छ । सतौँका पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान हुन् ।
बाइसे चौँबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलनअनुरुप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामकरण गरिएको थियो ।
सतौँका राजाको दरवार भनिने यस मन्दिरमा कालिका र भैरवको पूजा गरिन्छ । अहिले पनि यसलाई दरबार नै भनिन्छ । मन्दिर दर्शनका लागि दैनिक दुई तीनसय मानिस सतौँचण्डी आउने र दसैँजस्ता विशेष चाडपर्वमा हजारौंको संख्यामा दर्शनार्थी आउने गर्दछन् ।
पाल्पा भगवती, बाग्लुङ कालिका, गोरखा मनकामना र सतौँकोट (चण्डीस्थान)को पूजा गर्ने विधि र पूजारी पनि एउटै जातको भएकाले यसलाई समेत एकै किसिमको शक्तिपीठ भएको अनुमान गर्न सकिन्छ ।
यहाँ रहेको सतौँकोटको (चण्डीस्थान) को मन्दिर विसं २०४५ मा पुनःर्निर्माण गरिएको थियो । यहाँ मन्दिरको आसपासमा सतौँ चण्डीस्थान, सतौँकोट, पशुपतिनाथ मन्दिर रहेका छन् ।
यस मन्दिरमा पूजा वा दर्शनका लागि कास्की, पाल्पा, तनहुँ, पर्वत, बागलुङ, रुपन्देही, काठमाडौँलगायत टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् । प्राचीन सतौँ राज्यभित्र दरौँ, पञ्चमूल, अर्जुन चौपारी, सातु पसल, लामागे, सतौँगाउँ फापरथुम पर्दछन् । सतौँ चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वास छ ।
महाशिवरात्रि, बालाचतुर्दशी, दसैँ, चैतेदसैं आदिमा यहाँ मेला लाग्ने गर्दछ । यहाँ पञ्चबली (राँगा, हाँस, पाठा, भाले, परेबा, सुगुर) दिने चलन छ । यहाँ गहौँसुर, रापाकोट, बहाकोट, खिलुङकोट, नुवाकोट लगायका दर्जन भन्दा धेरै शक्तिपीठ रहेका छन् । स्याङजा बजारबाट करिब ११ किमी टाढा रहेको यो मन्दिर शक्तिपीठमा पुरानोसँगै धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य समेत हो ।