Syangja Dainik Media
एकै गाउँबाट दुई करोड बढीको आलु बिक्री

गल्याङ नगरपालिका –११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपियाँको आलुको बीउ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलदेखि २७५ क्विन्टलसम्म आलुको बीउ बिक्री गरेका हुन् । 

शीत भण्डारका अध्यक्ष रुमलाल कडेँलले मात्र २७५ क्विन्टल आलुको बीउबाट २२ लाख रुपियाँ आर्जन गरेको बताउनुभयो । आलुको बीउ ८० रुपियाँ प्रतिकेजीमा बिक्री भएको बताउँदै कडेँलले सबैको साथ सहयोगले गाउँमै शीत भण्डार सञ्चालन गरेर कृषकले मनग्य आम्दानी गरेको बताउनुभयो । 

Ismt_Pokhara

स्थानीय स्तरमा उत्पादित आलुको वीउ भण्डारणका लागि अन्य ठाउँमा लैजानुपर्ने समस्या शीत भण्डार सञ्चालन भएसँगै यहाँका कृषकलाई सहज भएको हो । केही बर्ष पहिलेसम्म उत्पादन गरेको आलु तथा बीउबिजन र अन्य सामग्री भण्डारणका लागि बुटवल तथा पोखरासम्म लैजानुपर्ने अवस्था थियो ।

विश्व बैङक र नेपाल सरकार सिँचाइ तथा जलस्रोत व्यवस्थापनको अनुदानमा एक करोड १७ लाखको लागतमा १५० टनको शित भण्डार निर्माण गरिएको हो । पहिलो शीत भण्डारको क्षमता कम भएपछि प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (सुन्तला सुपरजोन) को एक करोड ५२ लाख सहयोगमा अर्को शीत भण्डार निर्माण गरेर तीनसय म्याट्रिक टन आलुको बीउ व्यवस्थित रुपमा भण्डारण गरिएको हो । 

शीत भण्डारमा आलुको बीउ राखेर कृषकलाई आर्थिक समृद्ध बनाएको बताउँदै कडेँलले यहाँ भण्डारण गरेको आलु राम्रो भएकाले जिल्लाका सबै ठाउँबाट बीउको माग भएको बताउनुभयो । 

पछिल्लो समय जिमुहाँमा १५० हेक्टर जग्गामा आलु उत्पादन हुने हुँदा आवश्यकताका आधारमा शीत भण्डार सञ्चालनमा ल्याइएको छ । यहाँका कृषकले शीत भण्डार गृहमा प्रतिकेजी सात रुपियाँमा बीउ आलु भण्डारण गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update