स्याङ्जाको आँधीखोला गाउँपालिकामा खुल्ला भजन चुड्का प्रतियोगिता हुने भएको छ ।
बाला चतुर्दशिका दिन अर्थात् यहि मङ्सिर १५ गते 'अन्धा अन्धी श्रवण कुमारको महिमा' भन्ने विषयमा खुल्ला भजन चुड्का प्रतिस्पर्धा गरिने गाउँपालिका प्रमुख विश्व पौडेलले जानकारी दिए ।
आँधीखोला गाउँपालिका -४ स्थित ऎतिहासिक तथा धार्मिक तिर्थस्थल श्रवण कुमार समाधी क्षेत्र परिसरमा प्रतियोगिता गरिने प्रमुख पौडेलले बताए । सोही दिन सतबिज छर्ने लगायत विविध धार्मिक एवं सास्कृतिक कार्यक्रम गरिने उनको भनाइ छ ।
उनले ऎतिहासिक तथा धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्रको थप प्रचारप्रसार गर्ने र भजन चुड्का प्रतियोगिता मार्फत मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुगोस् भनी प्रतियोगिता आयोजना गरिएको पौडेलले बताए ।
किंवदन्ती अनुसार आफ्ना दृष्टिविहिन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिँडेका क्रममा बाबाआमालाई तिर्खा लागेछ ।
नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएछ । जुन ठाउँमा श्रवणकुमारको मृत्यु भयो सोही ठाउँमा नै पहिलो पटक भजन चुड्का प्रतियोगिता गर्न लागिएको हो ।
उनले प्रतियोगितामा विजेता हुने टिमले नगद १७ हजार रुपियाँ प्राप्त गर्ने बताए । यस्तै, द्वितीय हुनेले १३ हजार, तेस्रोले नौ हजार र सान्त्वनाले पाँच हजार रुपियाँ हात पार्नेछन् ।