अर्जुनचौपारी गाउँपालिकाले लैङ्गिक हिंसा विरूद्ध सचेतना जगाउने उद्देश्यका साथ आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
'लैङ्गिक हिंसा निवारणमा नागरिकको भूमिका' भन्ने शिर्षकमा भएको खुल्ला प्रतियोगितामा १२ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै दीपिका अर्याल प्रथम भएकी हुन् ।
प्रतियोगितामा दोस्रो स्थान सुलता थापा मगर र तृतीय स्थान प्रविन विकले हात पारेका थिए भने नन्दकली तिवारीले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।
अर्जुनचौपारी गाउँपालिकामा पनि महिला हिंसा केही हदसम्म कायम नै रहेको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले यस्ता घटना निस्तेज गर्न सरोकारवाला सबै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष तिवारीले यस अभियानमा आमा समूह तथा स्वयंसेविका सबैको साथ चाहिने बताए ।
पालिका उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, प्रवक्ता एवं वडा नम्बर दुईका वडाध्यक्ष धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केसी ढकाल लगायतले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सचेतना र महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न आमा समूहका प्रतिनिधि, महिला स्वयंसेविका तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।