शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु काठमाडौंले आइतबार आयोजित सचेतना गोष्ठी कार्यक्रममा रेबिज रोगबाट बच्नका लागि सबैलाई आग्रह गरेको छ ।
रेबिज रोगबाट संक्रमीत भएर ज्यान गुमाउनेको संख्या शून्य बनाउने तर्फ अस्पताल अग्रसर रहँदै देशभर यस्ता सचेतनाका कार्यक्रम गरिने अस्पताल प्रशासन शाखा अधिकृत एवं सूचना अधिकारी पुरण गुरुङले जानकारी दिए । यस आर्थिक वर्षमा नेपालभर चार स्थानीय तहमा सचेतना गोष्ठी गर्ने बताउँदै अर्जुनचौपारी गाउँपालिकाबाट उक्त कार्यक्रमको सुरुवात गरिएको गुरुङको भनाइ थियो ।
'रेबिज रोग लागेपछि सत प्रतिशत मृत्यु हुन्छ' गुरुङले भने, 'कुकुरले टोक्नसाथ रेबिज विरुद्धको खोप लगाइयो भने सत प्रतिशत ज्यान जोगाउन पनि सहयोग मिल्छ ।' विशेषगरी कुकुरको टोकाइबाट रेबिज रोग सर्ने र मृत्यु हुने गरेको भन्दै सो बाट बच्नका लागि सचेतना फैलाउनुपर्ने गुरुङले बताए ।
कार्यक्रममा डा. शंकर पाण्डे, डा. सुधीर बानियाँ, डा. विश्वनाथ दवाडी लगायतले रेबिजको बारेमा, रेबिज खोप तथा PEP बारेमा, जनावरले टोकेको ठाउँमा घाउको व्यवस्थापन, खोपको प्राविधिक र व्यवहारिक ज्ञान बारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले यस्ता कार्यक्रम हरेक वर्ष ल्याउन आग्रह गर्दै हरबखत सहकार्य गर्न तयार रहेको बताइन् । सोही कार्यक्रममा उपाध्यक्ष गुरुङले रेबिज रोगबाट बच्नका लागि पालिकाभित्र रहेका कुकुरहरुलाई रेबिज विरुद्धको सुई लगाउने काम समेत गरेको जानकारी गराइन् ।
सो कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत कौशल पाण्डेले रेबिज रोगबाट बच्न पालिकाभित्रका कुकुरहरू व्यवस्थापनका लागि कार्यविधि बनाएर दीर्घकालीन योजना अघि सार्ने बताए ।
अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा भएको रेबिज सम्बन्धी सचेतना गोष्ठीमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी विनम्रता न्यौपानेले स्वागत मन्तव्य, वडा नम्बर -६ का वडाध्यक्ष नारायण प्रसाद ढकाल, महिला स्वास्थ्य स्वयंसेविका उषा केसी रोकाहाले धन्यवाद व्यक्त गरेका थिए । सो कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर नेपालीले गरेका थिए ।