भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्मृतिमा भारतीय शहर जयपुरमा १६ डिसेम्बरमा आयोजना गरिएको अटल जयन्ती महोत्सवमा नेपालका युवराज आचार्य प्रमुख अतिथीको रुपमा जाने भएका छन् ।
इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशनका महासचिव आचार्यलाई यो अवसर प्रदान गरिएको हो ।
राष्ट्रिय समता स्वतन्त्र मंचद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा विश्वस्तरमा बढ्दै गइरहेको अशान्ति र सामरिक होडबाजी नियन्त्रण गर्न बसुधैव कुटुम्बकम्, ग्लोबल भिलेज र सत्यम् शिवम् सुन्दरम् जस्ता बिषयमा बृहत छलफल गरिने छ । उक्त कार्यक्रममा विभिन्न ७१ क्षेत्रका प्रतिभाहरुलाई अटल श्री अवार्ड प्रदान गर्ने कार्यक्रम समेत रहेको इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशनले जानकारी दिएको छ ।
अधिवक्ता कुलदीप प्रसाद शर्माका अनुसार कार्यक्रममा मध्यप्रदेश सरकारका मन्त्री रविकिरण साहुको विशेष उपस्थिति रहनेछ ।
१६ डिसेम्बरमा जयपुरबाट सुरु भएको कार्यक्रम २७ डिसेम्बरमा काठमाण्डौंमा समापन हुनेछ । २४ देखि २७ डिसेम्बरसम्म काठमाण्डौंमा आयोजना गरिएको विश्वशान्ति समरसता सम्मेलनमा सहभागी हुन जयपुरबाट काठमाडौंका लागि रथयात्रा गरिने छ । समरसता रथयात्रा नाम दिएको उक्त रथयात्राका सहभागीलाई नेपालका प्रथम पूर्वउपराष्ट्रपति परमानन्द झा र सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्रलालले पशुपति क्षेत्रमा स्वागत गर्ने कार्यक्रम छ ।