पुतलीबजार नगरपालिका–१०, राङखोला निवासी छबबहादुर विश्वकर्माले विगत २५ वर्षदेखि व्यावसायिक रूपमा आरनको काम गर्दै आउनुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकाश भएसँगै ६६ वर्षीय विश्वकर्माले विक फलाम उद्योग दर्ता गरेर व्यावसायिक आरन सञ्चालनमा ल्याउनुभएको हो ।
अवकाश भएर गाउँ फर्किएपछि एउटा व्यवसाय सञ्चालन गर्ने सोच आएपछि विश्वकर्माले आफ्ना बुवाबाट सिकेको सिप आरनलाई नै व्यावसायिक रूपमा अगाडि बढाउने टुङ्गोमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुवा आरन व्यवसायमा यो क्षेत्रकै नामुद हुनुहुन्थ्यो । सानोमा बुवाबाट यसबारे आवश्यक धेरै सिप सिकेको र त्यही सिपले अहिले परिवार पाल्दै आएको छु ।”
आरनमा काम गर्नेलाई समाजले हेला, भेदभाव र हिंसा गर्ने भएकाले नयाँ पुस्ताको चासो यसमा नभएको उहाँले बताउनुभयो । आफ्नो आम्दानीको मुख्य स्रोत भने आरन नै रहेको उहाँको भनाइ छ । घन पिट्ने नै हो भने किन पढ्ने, पढेपछि त सोही अनुसारको जागिर गर्नु प¥यो नि भन्ने बुझाइ समाजमा रहेको बताउँदै विश्वकर्माले समाजको दृष्टिकोण, श्रमको सम्मान नभएमा यो व्यवसाय हराउँदै जाने निश्चित भएको पनि बताउनुभयो । पुस्तौँदेखि चल्दै आएको आरन आफूले काम गर्न सक्दासम्म मात्रै रहने र नसक्दाको दिनदेखि स्वतः आफ्नो पुस्ता तथा परिवारबाट हराउने उहाँको भनाइ थियो ।
पहिला परम्परागत रूपमा आरन सञ्चालन हुने गरेकामा अहिले आधुनिक प्रविधिको प्रयोगले काममा केही सहज बनाएको उहाँ बताउनुहुन्छ । आरन एक्लैले चलाए पनि सिप र बलको काम हुने भएकाले बलको काम गर्नुपर्दा अरूको सहयोग विश्वकर्माले लिने गर्नुभएको छ । आरनका लागि अहिले कोइलाको समस्या हुँदै आएको छ भने रक्सी तथा कुँडो पकाउन बालिएका दाउराको कोइला किनेर आरन चलाएको उहाँ बताउनुहुन्छ ।
पहिलेदेखि यहाँ बनाइएका औजार टिकाउ र राम्रो हुने छाप परेकाले जिल्लाबाहेक पाल्पा, पर्वत र कास्कीका औजार तथा भाँडा बनाउन आउने गरेका छन् । भाँडाकुँडाका साथै चक्कुदेखि खुँडासम्म बनाउने गरिएको जानकारी उहाँले दिनुभयो । न्यूनतम तीन सयदेखि अधिकतम सात हजारसम्म एउटै औजार तथा भाँडाबाट आम्दानी हुने गरेको विश्वकर्माले बताउनुभयो । नयाँ भाँडाकुँडा तथा औजार बनाउने र पुराना मर्मत गर्दा जेनतेनले परिवार पाल्नुभएका विश्वकर्माले आफ्नो भारतीय पेन्सन भने बचाउने गर्नुभएको छ ।