Syangja Dainik Media
स्याङ्जामा एक अर्ब १२ करोडको सुन्तला उत्पादन

सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस वर्ष एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपियाँको सुन्तला उत्पादन भएको छ । जिल्लामा दुई हजार २८० हेक्टरमा सुन्तला लगाइएकोमा एक हजार ३७० हेक्टरमा सुन्तला फलेको हो ।
 
यस आर्थिक वर्षमा ९७ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको छ भने गत आर्थिक वर्षमा १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला उत्पादन बढे पनि मूल्य गत वर्षभन्दा औसतमा चार रुपियाँले घट्दा दुई करोड पाँच लाख १४ हजार आठ सय रुपियाँको कम उत्पादन भएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले ४२ बगैँचामा क्रप कटिङ गरेपछि सुन्तला उत्पादनको औसत सार्वजनिक गरेको हो । गत वर्ष ६० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री भएको थियो भने यो वर्ष औसतमा ५६ रुपियाँ प्रतिकिलो विक्री भैरहेको छ । सुन्तला रसिलो र दाना चिल्लो हुने भएकाले उपभोक्ताको रोजाइमा स्याङ्जाको सुन्तला पर्ने गरेको छ ।
 
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत अजय अधिकारीले उत्पादनशील बगैँचाको क्षेत्रफल यस वर्ष ५० हेक्टरले बढेको बताए । अधिकारीले गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा १३० हेक्टरमा सुन्तला लगााइएको बताए । यहाँ आन्तरिक खपत १० प्रतिशत अर्थात दुई हजार ८४.२ मेट्रिक टन छ भने अन्य सुन्तला जिल्ला बाहिर खपत भएको छ ।

Ismt_Pokhara

यहाँ प्रति हेक्टर १४.६६ मे.ट. सुन्तला फलेको हो भने गत साल उत्पादकत्व १४.४६ थियो । ११ स्थानीय तह रहेको जिल्लमा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुँदै आएको छ भने भीरकोट, वालिङ, गल्याङ नगरपालिका, अर्जुन चौपारीमा मुख्य पकेट क्षेत्र छन् ।

बिरुवा, आँधीखोला, फेदिखोला र हरिनास गाउँपालिकामा नयाँ पकेट क्षेत्र विस्तार गरिएको छ । उत्पादन भएको सुन्तला ६० प्रतिशतमा फलेको हो भने ४० प्रतिशत  नयाँ साना बिरुवा रहेको कार्यालयका सूचना अधिकारी कृषि अधिकृत प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिइन् । नयाँ क्षेत्र विस्तार र नयाँ बोट फल्दै जाँदा हरेक बर्ष यहाँ सुन्तला उत्पादन बढ्दै जाने अनुमान कार्यालयले गरेको छ । यहाँ एकै व्यक्तिले हरेक वर्ष एक लाखदेखि ५० लाखसम्मको उत्पादन गर्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update