Syangja Dainik Media
जन्मोत्सवमा विद्यालयमा अक्षयकोष स्थापना

स्याङ्जाको भीरकोट नगरपालिका -६ निवासी नारायण प्रसाद कोइरालाले आफ्नो जन्मदिनको अवसर पारेर आफूले अध्यापन गराउने विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । 

कोइरालाले आफ्नो ३७ औं जन्मदिनको अवसर पारेर भीरकोट नगरपालिका -८ स्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा आफ्ना स्वर्गीय हजुरबुबा एकनारायण कोइराला र स्वर्गीय हजुरआमा विन्द्राकुमारी कोइरालाको स्मृतिमा 'एकनारायण विन्द्रा अक्षयकोष' स्थापना गरेका हुन् । 

पब्लिक एकेडेमी माविका अध्यापक कोइरालाले विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउने उद्देश्यका साथ ५५ हजार पाँच सय ५५ रुपियाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । 

अक्षयकोष स्थापना गर्दै अध्यापक कोइरालाले उक्त कोषबाट प्राप्त हुने ब्याजले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कक्षा -१० (एस.ई.ई) परिक्षामा ३.२ भन्दा बढी जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्तिको सुविधा उपलब्ध गराउने बताए ।

आफ्नो जन्मदिनलाई तडकभडकका रुपमा फजुल खर्च गरेर मनाउनुभन्दा आफूले नै अध्यापन गराउने विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा निकै खुसी लागेको अध्यापक कोइरालाले बताए । 

अध्यापक कोइरालाले अक्षयकोषको रकमको चेक विद्यालयकी प्रधानाध्यापक देवकी रेग्मीलाई हस्तान्तरण गरेका छन् । उनले यसअघि पनि भीरकोटमा आफूले अध्ययन गरेको भाग्योदय मावि र अध्यापन गराएको बालोदय आवासीय माविमा समेत अक्षयकोष स्थापना गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update