स्याङ्जाका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् ।
वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् ।
सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको ढुंगानाले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैंचाबाट नै खरिद गर्छन् ”, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।
तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन् । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका थिए । उनको बगैंचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।
उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आएका छन् । बगैंचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन् । ढुंगानाले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन्