Syangja Dainik Media
धमाधम बन्दै छ बहुउद्देश्यीय भवन

स्याङ्जाको भीरकोट नगरपालिकामा क्षत्री समाज बहुउद्देश्यीय भवनको निर्माण कार्य धमाधम अगाडि बढिरहेको छ । क्षत्री समाज नेपाल, भीरकोटले वडा नं १ बयरघारी पुलको मुखमा निर्माण गरिरहेको यो भवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ ।

४ करोड लागत अनुमान गरिएको सो भवन ७ हजार १ सय ६५ बर्गफिट क्षेत्रफलमा निर्माण भैरहेको छ । ३ तलाको संरचनामा समेटिने भवनमा २ वटा सभाहलमा हुनेछन् । एउटा सभाहलमा कम्तिमा पनि ६ सय जना अट्ने समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर के.सी.ले जानकारी दिए । कृष्ण निर्माण सेवाले निर्माण गरिरहेको यो भवन आर्थिक वर्ष ८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

क्षत्री समाजको अगुवाइमा निर्माण गरिने भएपनि भवन समुदायका सबै समुदायले प्रयोग गर्न पाउने अध्यक्ष के.सी.ले बताए । पर्यटन र सामाजिक एकता प्रवर्द्धनका लागि भवन निर्माण गरिएको अध्यक्ष के.सी.ले बताए । भवनमा शारीरिक स्फुर्तिका लागि योगा, जिम, बास्केटबल कोर्टको सुविधा हुनेछ । यसैगरी धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक कार्यक्रम संचालनका लागि सभाहल, मन्दिर, हवनकुण्डको सुविधा समेत हुनेछ ।

उनका अनुसार बहुउद्देश्यीय भवनमा एउटा संग्राहलय समेत स्थापना गरिनेछ । संग्रहालयमा भीरकोट नगरपालिकामा बसोबास गर्ने सबै जातजातिको पहिचान र मौलिकता झल्कने गरी धार्मिक र सांस्कृतिक वस्तुहरू राखिने छन् । यसैगरी भवनमा भीरकोटमा रहेका होमस्टेहरूमा आउने पाहुना र भीआइपीहरूलाई आवासीय सुविधा समेत प्रदान गरिने लक्ष्य राखिएको छ । भवनलाई पर्यटक सूचना केन्द्र एवं गेस्ट रिसिभङ स्टेसनको रूपमा प्रयोग गरिनेछ । यहाँबाट खिलुङ, स्वरेक, ओकादी, केघा जस्ता पर्यटकीय स्थानमा जान सहज हुन्छ ।

सामाजिक एकता पर्यटन प्रबर्द्धनका लागि निर्माण भैरहेको भवन निर्माणका लागि भीरकोट नगरपालिकाले १० लाख र राष्ट्रिय पर्यटन बोर्डले २० लाख आर्थिक सहयोग गरेको कस्तरी समाज, भीरकोटका सचिव लेखबहादुर के.सी. किरणले जानकारी दिए । उनका अनुसार मुख्यतया: क्षत्री समाजका सदस्य र शुभेच्छुकबाट उठेको रकमले भवन निर्माण भैरहेको छ । हालसम्म सरकारी निकाय, शुभेच्छुक र दाताहरू करिब  १ करोड रकम उठिसकेको छ । भवन निर्माणका लागि अझै ३ करोड अपुग रहेकोले समाजले शुभेच्छुक संघसंस्था र व्यक्तिहरूलाई सहयोगका लागि आग्रह गरेको छ ।

भीरकोटको विकासमा कोसेढुङ्गा सावित हुने यो भवन समयमै सम्पन्न गर्न भीरकोटका राजनीतिक दलहरूले समेत सकारात्मक भूमिका खेल्नुपर्ने देखिन्छ । स्थानीय, प्रदेश र संघीय सरकारले समेत उचित चासो र आर्थिक सहयोग गरेमा तोकिएको अवधिमै भवन निर्माण सम्पन्न हुने समाजका अध्यक्ष के.सी. को विश्वास छ ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
अर्जुनचौपारी
Weather Update