
कम तौल र श्वासप्रश्वासमा समेत समस्या रहेका स्याङ्जाका एक नवजात शिशु महिना दिन नपुग्दै २ सय ग्राम तौल वृद्धि गरी घर फर्किएका छन् । अस्पताल आउँदै गर्दा गाडीमा जन्मेका, जन्मँदै १५ सय ग्राम तौल, श्वासप्रश्वासमा पनि समस्या भएका ती नवजात शिशु स्वास्थ्यलाभ गरी घर फर्केका हुन् ।
पुतलीबजार नगरपालिका -३ स्थित जिल्ला अस्पताल स्याङ्जामा रहेको शिशु सघन उपचारकक्ष (एनआईसीयू) मा राखेर उपचार गरेरपछि ४ दिनअघि अभिभावकसँगै घर फर्किएका छन् । ‘यहाँ आए लगत्तै २९ दिनसम्म शिशुलाई राखियो । बालरोग विशेषज्ञ सहितको चिकित्सकको टोलीले रेखदेख गरिरहन्थे । त्यति बेलासम्म शिशुको तौल २ सय ग्रामले बढ्यो । श्वास प्रश्वास सहज बन्यो । आवश्यकता अनुरूपको अक्सिजन पनि पुगेको भन्ने चिकित्सकका सल्लाह बमोजिम घर पठाएका छौं’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले भने ।
अध्यक्ष गोदारका अनुसार अस्पतालले करिब डेढ वर्षअघिदेखि शिशु सघन उपचार कक्ष स्थापना गरेको हो । पहिले उपचार कक्ष नहुँदा पोखरा पठाउनु पर्ने बाध्यता थियो । शिशु सघन कक्षमा नवजात शिशुलाई २८ दिनसम्म राखिन्छ । शिशु सघन कक्षमा रहेको १० दिनपछि आमाले अंगालोमा भर्दै आमाको मायाबाट पनि उपचार गरिने चिकित्सकको भनाइ छ । जन्मेकै दिन यहाँ आउँदा शिशुको मुटुले पम्प गर्न ढिलाई गरेको, श्वास फेर्न गाह्रो भएको र शिशुमा अक्सिजनको मात्रा पनि निकै कम रहेको अस्पताल प्रमुख डा. सुशिल मरासिनीले जानकारी दिए ।
अस्पतालमा शिशु सघन उपचारसेवा दिन थालेपछि अहिलेसम्म ३० जना शिशुले यसरी नै उपचार पाएका छन् । ती मध्ये ४ जना जतिलाई पोखरा पनि रिफर गरिएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. बिनोद गैह्रेले जानकारी दिए ।
शिशु तथा बालरोग सघन उपचार सेवा सुरु भएसँगै स्याङ्जाबाट उपचारका लागि पोखरा, काठमाडौं जस्ता ठूला तथा सम्पन्न अस्पताल जान नपर्नेगरी सेवा दिइने डा. मरासिनीको भनाइ छन् । पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गरेसँगै स्वास्थ्योपचारका लागि यहाँ आउने सर्वसाधारणको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।
२०५७ सालमा स्थापित जिल्ला अस्पतालले विभिन्न विशेषज्ञ सेवा, डायलायसिस लगायत सामान्य तथा जटिल प्रकारका शल्यक्रिया सहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ