पक्की भवन, सफा र आकर्षक कक्षाकोठा, पर्याप्त खेलकुद सामाग्री र फराकिलो खेलमैदान, सुन्दर फूलबारी अनि सफा शौचालय । बालमैत्री नगरपालिकाको बालमैत्री विद्यालय भन्ने बित्तिकै तपाईंको आँखामा सायद यस्तै भौतिक संरचनाको तस्बिर आउँछ होला । बालमैत्री स्थानीय शासन लागू भएको स्याङ्जाको एक मात्र नगरपालिका भीरकोटको वास्तविकता भने तपाईंको कल्पनालाई जगैदेखी हल्लाउने खालको छ ।
बालमैत्री नगरपालिका भीरकोट नगरपालिका र स्मार्ट सिटी वालिङको सिमानामा रहेको गडी भञ्जाङ आधारभूत विद्यालय बाहिरबाट हेर्दा त आकर्षक नै छ । गमलामा ढकमक्क फूलहरू फूलेका छन् । विद्यार्थी संख्या पनि अन्य आधारभूत विद्यालयको तुलनामा राम्रो छ । सुन्दर हिमाल, भीरकोट र वालिङको सेरोफेरो र आँधीखोला किनारमा रहेका सुन्दर फाँटहरू हेर्दा भीरकोट नगरपालिकाको वडा नं -५ मा पर्ने गडी भञ्ज्याङ साँच्चिकै स्वर्गसरी रमाइलो छ ।
तर शिशुदेखी ३ कक्षासम्म पढाइ हुने यही सुन्दर ठाउँमा अवस्थित गडी भञ्ज्याङ आधारभूत विद्यालयमा भने कक्षाकोठाको अभावमा सिढी र बार्दलीमा पढाइ हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । नगरपालिकाका भित्ता र सार्वजनिक स्थान बाल अधिकारका सचेनामूलक सन्देशले भरिए पनि भाषण र प्रचारमा जस्तो अनुभूति यहाँका बालबालिकाले गर्न पाएका छैनन् ।
विद्यालयमा शिशु, के.जी., एक, दुई र तीन कक्षा र भान्सा कोठा गरि ६ वटा कक्षाकोठा आवश्यक छन् । तर विद्यालयमा जम्मा ४ वटा कोठा मात्रै छन् । एउटा कोठामा कार्यालय छ । ४५ जना विद्यार्थी रहेको यो विद्यालयमा कक्षा २ ले सिढीमा र ३ ले बार्दलीमा पढ्दै आएका छन् । सिढीमुनी नै विद्यार्थीलाई खाजा पकाउने भान्साको व्यवस्थापन गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक सरला वि.क. ले बार्दली र सिढीमा पढाउनु विद्यालयको बाध्यता भएको सुनाइन् । भूकम्पमा परी विद्यालय भवनमा क्षती पुगेपछि केही समय त्यही पुरानो भवनमा टिनले बारेर भएपनि पठनपाठन गरिएको थियो तर बर्षाको समयमा त्यो पनि भत्केपछि विद्यार्थीको कक्षाकोठा सिढी र बार्दलीमा गरिएको प्रधानाध्यापक वि.क.को भनाइ छ । 'वर्षातको समयमा बार्दलीमा हावाहुरी र पानीले समस्या हुने भएकाले अफिसमा राखेर पढाउँछौं । कक्षाकोठा व्यवस्थापनका लागि ७ वर्षसम्म नगरपालिकामा गुनासो गर्दा हालसम्म पनि केही गर्न सकिएको छैन ।' प्रधानाध्यापक वि.क.ले भनिन् ।
विद्यालयको नाममा ३ रोपनी जग्गा छ । तर प्रार्थना गर्न र खेल्नका लागि खेलमैदान समेत छैन । कारण विद्यालयको आँगनबाट नै सडक खनिएको छ । शौचालय जान समेत सडक पार गरेर जानुपर्ने बाध्यता छ । सडककै कारण विद्यालयको ४ कोठे भवन समेत जोखिममा परेपछि वडाको बजेटमा हालै पर्खाल निर्माण गरिएको छ । विद्यालयको स्वामित्वमा रहेको जग्गामा विद्यालयको भौतिक र शैक्षिक विकासलाई नै अवरोध पुग्ने गरि विकास गर्ने जनप्रतिनिधि र स्थानीय सरकारलाई अहिलेसम्म लाज भने लागेको छैन । सडकको विकल्प खोज्न पटकपटक अनुरोध गरेपनि विद्यालयको अनुरोध न समुदायले सुनेको छ न त स्थानीय सरकारले नै ।
वडा अध्यक्ष कृष्ण बहादुर थापाले विद्यालयमा कक्षाकोठाको समस्या भएको स्वीकार गर्छन् । वडाध्यक्ष थापाले भने, 'विद्यार्थी संख्या त अन्य स्कुलको तुलनामा राम्रो छ तर विविध कारणले कक्षाकोठा व्यवस्थापन गर्न सकिएको छैन ।' निमित्त प्रशासकीय प्रमुख एवं शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले कक्षाकोठा व्यवस्थापनका लागि यो आर्थिक वर्षमा नगरपालिकाबाट ५ लाख बजेट विनियोजन भएको छ । उनले भने, 'सम्भवतः यो वर्ष कक्षाकोठाको समस्या समाधान हुन्छ । विगतमा विद्यार्थी संख्या कम भएकाले भवन निर्माण प्राथमिकतामा परेको थिएन ।'
विद्यार्थीहरूको सुविधाका लागि जनप्रिय माध्यमिक विद्यालय १ घण्टाको दूरीमा छ भने वालिङको टापु भञ्ज्याङ माध्यमिक विद्यालय ३० मिनेटको दूरीमा छ । यद्यपि, दुरी र असुविधाका कारण अभिभावकहरू अन्य विद्यालयमा पठाउन सक्दैनन् ।
समुदायले समस्या समाधानका लागि प्रयास गरे पनि पर्याप्त स्रोत जुटाउन सकेको छैन । विद्यालयमा फर्निचर र कार्पेटको अभाव हुँदा पटकपटक नगरपालिका धाउँदा पनि समस्या समाधान नभएपछि प्रधानाध्यापक वि.क.ले विद्यालयको नाममा देउसी भैलो खेल्ने योजना बनाएर देउसी भैलोबाट उठाइएको १ लाख १० हजार रुपियाँले अत्यावश्यक फर्निचर खरिद गरेको प्रधानाध्यापक सरला वि.क.ले बताइन् ।
तर विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि थप सहयोग आवश्यक छ । बालमैत्री शिक्षा वास्तविकतामा सुनिश्चित गर्न राज्य र सरोकारवालाहरूको ध्यानाकर्षण अपरिहार्य छ