Syangja Dainik Media
स्याङ्जा कारागारमा दुई गुणाभन्दा बढी कैदीबन्दी

६५ जनाको क्षमता रहेको जिल्ला कारागार स्याङ्जामा दुई गुणाभन्दा बढी कैदीबन्दीहरु रहेका छन् । जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका -१ मा रहेको उक्त कारागारमा अहिले एक सय ४४ कैदीबन्दीहरु रहेको जिल्ला कारागार स्याङ्जाका प्रमुख दिनेश शर्मा मरासिनीले जानकारी दिए । 

वि. सं. २०३७ सालमा स्थापित कारागारमा ५० पुरुष र १५ महिलाको क्षमता रहेपनि अहिले कैदी पुरुष एक सय सात, थुनुवा ३१ जना, महिला कैदी पाँच जना र थुनुवा एक जना गरि १४४ जना कारागारमा कैदीबन्दीहरु रहेको कारागार प्रमुख शर्माले बताए । 

कारागारको भौतिक संरचना पुरानो हुँदा कैदीबन्दीहरुको बसाइँमा भने समस्या भएको छ । हालसम्म मर्मतसम्भार गर्दै दु:ख सुखले चलाउँदै आएको र अझै कैदीबन्दीहरु थपिए भने कारागारमा कैदीबन्दीहरु राख्न समस्या बन्ने र विकल्प खोज्नुपर्ने बाध्यता हुने शर्माको भनाइ छ । 

यद्यपि, कारागारमा कैदीबन्दीहरुलाई खेलमैदान, आर्थिक पार्जनका लागि उद्योग भने रहेको छ । कारागारमा रहेका कैदीबन्दीहरुले बनाएका मोडा लगायतका चिजहरु बेच्न आन्तरिक बजार व्यवस्थापन गरिएको र उनीहरूलाई यसले गर्दा आर्थिक पार्जनमा भने सहयोग भएको कारागार प्रमुख शर्माले बताए । कैदीबन्दीहरुले जेठो मोडा, माइलो मोडा, कान्छो मोडा, चकटी मोडा, सिङ्गल/डबल स्टार मोडा, जम्बो मोडा, टेबल मोडा र टी - टेबल सेट बनाउने गर्दछन् ।

यस्तै, जिल्ला कारागार स्याङ्जामा पाँचौ तहको स्वास्थ्यकर्मीको दरबन्दी लागू भएपनि स्वास्थ्यकर्मीको अभाव रहेको र अहिले उक्त समस्याको पनि केही हदसम्म समाधान भएको प्रमुख शर्माले बताए । कारागारमा दरबन्दी कायम पश्चात् अहेव मनोज कुमार यादवले केवल दुई वर्ष मात्र सेवा दिई २०७९ असार २४ गते रौतहट कारागारमा सरुवा गरेर गएका थिए । उनी सरुवा गरेर गएसङ्गै यहाँ स्वास्थ्यकर्मीको अभाव झेल्नुपरेको हो । 

अहेव सरुवा गरेर गएसङ्गै दुईपटक लोकसेवामा माग गरेपनी स्वास्थ्यकर्मी नपठाइएको प्रमुख शर्माले बताए । उनले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नभएपछि यहाँका कैदीबन्दीहरुलाई कहिले निजी स्वास्थ्यकर्मी ल्याएर त कहिले जोखिम मोलेर मेडिकल लगेर उपचार गर्नुपरेको बताए ।

नेपाल सरकारले नि: शुल्क उपचारको व्यवस्था गरेको भएपनि कारागारमा स्वास्थ्यकर्मी नहुँदा निजि स्वास्थ्य संस्था, मेडिकलमा निर्भर हुन बाध्य रहेको र मेडिकलमा रकम खर्च गरेर उपचार गर्नु परेको कैदीबन्दीको गुनासो रहेको छ ।

केही समय अगाडिदेखि उक्त समस्या पुतलीबजार नगरपालिकाले समाधान गरेको छ । पुतलीबजार नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर अहिले कारागारमै स्वास्थ्य परिक्षण हुने गरेकाले सहज भएको प्रमुख शर्माको भनाइ छ । 

कारागारमा रहेका कैदीबन्दी मध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीका ३९ जना, कर्तव्य ज्यानका २७ जना, लागूऔषधका २८ जना, हाड-नाता करणीका १७ जनासहित २६ मुद्दाका कैदीबन्दी रहेको स्याङ्जा कारागार प्रमुख शर्माले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
अर्जुनचौपारी
Weather Update