स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले आज ५० औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव मनाएको छ ।
गण्डकी प्रदेशका पूर्व सामाजिक विकास तथा शिक्षा मन्त्री एवं नेपाली काङ्ग्रेसका प्रदेश उपसभापति मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव तथा स्वर्ण महोत्सव अर्जुनचौपारी गाउँपालिकाका जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।
५० औं वर्ष पार गरेर मनाएको विद्यालयको वार्षिकोत्सव तथा स्वर्ण महोत्सव पालिकामा रहेका ३३ जना जनप्रतिनिधिले नै बहिष्कार गरेका हुन् । ३३ जना जनप्रतिनिधि मध्ये २८ जना नेपाली काङ्ग्रेस र ५ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष काङ्ग्रेसबाट निर्वाचित हुन् । गाउँपालिकाका ६ वटा वडामध्ये एउटा वडाको अध्यक्ष र ४ वटा वडा सदस्य एमालेबाट निर्वाचित हुन् भने अन्य सबै काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि दुई तिहाइभन्दा बढी भएपनि विवादित ढंगले वार्षिकोत्सव तथा स्वर्ण महोत्सव गरिएको भन्दै सो वार्षिकोत्सव तथा स्वर्ण महोत्सवमा सहभागी नभएको वडा नम्बर १ का वडा अध्यक्ष रण बहादुर थापाले बताए । वडा अध्यक्ष थापाले प्रदेशका पूर्व मन्त्रीको बरियता नदेखिएका व्यक्तिलाई वार्षिकोत्सव तथा स्वर्ण महोत्सवमा मुख्य व्यक्ति बनाएकोमा पालिकाका सबै जनप्रतिनिधिले वार्षिकोत्सव तथा स्वर्ण महोत्सव बहिष्कार गरेको बताए ।
उक्त वार्षिकोत्सव तथा स्वर्ण महोत्सव गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई विशिष्ट अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो । पालिका अध्यक्षको बरियता १५ औं स्थानमा रहेको र प्रदेशका पूर्व सांसद तथा मन्त्रीको बरियता नभेटिएको थापाको भनाइ थियो । जनप्रतिनिधिको जनमतको अवज्ञा गरेको भन्दै सबै जनप्रतिनिधिले विद्यालयको वार्षिकोत्सव तथा स्वर्ण महोत्सव बहिष्कार गरेको वडा अध्यक्ष थापाले ठानेका छन् ।
ब्यवस्थापन समिति अध्यक्षनै बेखबर
विद्यालयको कुनै पनि निर्णय गर्न विद्यालय ब्यवस्थापन समिति अध्यक्षको निर्णय अनिवार्य रहन्छ । यो विद्यालयको स्वर्ण महोत्सबमा समितिका अध्यक्ष फणी नारायण अर्याल भने अनविज्ञ रहेका छन् ।
आफूले राजिनामा पनि नदिएको र कुनै जानकारी बिना स्वर्ण महोत्सव गरिएको अर्यालको भनाई थियो । अर्यालले आफूलाई खबर नै नभएको र समितिका सदस्यलाई ज्येष्ठ सदस्य बनाएर बैठक बसी स्वर्ण महोत्सब गरेको सुनेको बताए । 'ज्येष्ठ सदस्य हो भने पदेन सदस्य वडा अध्यक्ष नै ज्येष्ठ हुनुहुन्थ्यो, कसरी कसले अरुलाई सभापति र निर्णय गर्ने अधिकार दियो', वि.व्या.स. अध्यक्ष अर्यालको प्रश्न थियो ।
महोत्सवमा शिक्षक अभिभावक संघको अध्यक्ष समेतलाई जानकारी नभएको र अन्तिम दिन अभिभावक भएकाले पत्र आएको संघका अध्यक्ष प्रेम प्रसाद ढकालले बताए । 'अहिले महोत्सव भयो अब खर्च पास गर्ने बेलामा हाम्रो आवश्यकता होला नि', अध्यक्ष ढकालको भनाई थियो ।
भूतपुर्व विद्यार्थीलाई समेत थाहा भएन
हरेक विद्यालयको स्वर्ण महोत्सव एक चोटी आउँछ । सबैको चाहना सहभागि हुने भन्ने हुन्छ । वि.सं. २०४४ सालबाट एसएलसी दिन सुरु यो विद्यालयमा अहिले सम्म ३७ ब्याचका तीन हजार विद्यार्थी विद्यालयबाट निस्केका छन् ।
यस्तो पर्वमा विद्यालयले कुनै पनि विद्यार्थीलाई सहभागि हुन नबोलाएको भूतपुर्व विद्यार्थीले गुनासो गरेका छन् । २०४९ सालमा एसएलसी पास गरेका वडा नं –३ का गोविन्द प्रसाद काफ्लेले स्वर्ण महोत्सवमा नबोलाएको बताए ।
आफ्ना एक छोरी र एक छोरा यसै विद्यालयमा पढेपनि सबैलाई पत्र पठाउँदा आफूलाई खबर नै नगरेको काफ्लेको गुनासो थियो । काफ्ले मात्र होइन यहाँका कुनै भूतपुर्व विद्यार्थीले थाहा नपाएका हुन् ।
यस विद्यालयबाट एसएलसी पास गरेका सयौं निजामती कर्मचारी र डाक्टर, इन्जिनियर समेत बनेका छन् ।