सामाजिक विकास कार्यालय स्याङ्जा समाज रुपान्तरण गर्ने सोचका साथ अघि बढिरहेको छ । केही समय अघिसम्म खासै चर्चामा नभएपनी अहिले दिनहुँ जसो चर्चा कमाउँदै छ सामाजिक विकास कार्यालय स्याङ्जा ।
दैनिक समाजका नागरिकहरूसङ्गै देखिदै आइरहेको छ सामाजिक विकास कार्यालय स्याङ्जा र हरेक दु:खमा देखिन्छन् सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल । हुन त समाज रुपान्तरण र विकासका लागि नै हो सामाजिक विकास कार्यालय । तर पनि सामाजिक विकास कार्यालय स्याङ्जाले पछिल्लो समय लिइरहेको नागरिकप्रतिको चासो र जिम्मेवारीबोधले साच्चिकै हरेक नागरिकको दु:ख सुखमा सामाजिक विकास कार्यालय स्याङ्जा रहेको अनुभूति हुन्छ ।
कहिले ती कलिला बालबालिका र विद्यार्थीहरुको साथमा देखिन्छ त कहिले ज्येष्ठ नागरिकहरुको अङ्गालोमा, त्यस्तै कहिले दृष्टिबिहिनसंग देखिन्छ त, कहिले युवाहरूको माझमा । कहिले असहायले टेक्ने लौरी बनिरहेको हुन्छ, कहिले लागू औषध रोकथाममा त कहिले सामाजिक न्यायमा तत्तचित्त भएर लागिरहेको छ ।
विद्यार्थीमाझमा पन्चेबाजा प्रतियोगिता होस् या ज्येष्ठ नागरिक र बालबालिकालाई सम्मान एवं न्यानो मायाको कार्यक्रम, कुलत तथा लागुऔषध न्यूनीकरणका लागि सरोकारवालालाई परामर्श तथा प्रशिक्षण होस् या ज्येष्ठ नागरिकमा भएका ज्ञान, सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण, यी सबै कार्यक्रमको नेतृत्व र संयोजन सामाजिक विकास कार्यालय स्याङ्जाले गरिरहेको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले शुक्रबार मात्रै दुईवटा कार्यक्रम गर्यो एक थियो कुलतमा लागेका युवा तथा तिनिहरुका अभिभावक अन्य सरोकारवालालाई परामर्श तथा प्रशिक्षण कार्यक्रम र अर्को थियो दृष्टिबिहिन बालबालिकालाई न्यानो कपडा र सरसफाई सामाग्री वितरण कार्यक्रम ।
कहिले ती कलिला बालबालिका र विद्यार्थीहरुको साथमा देखिन्छ त कहिले ज्येष्ठ नागरिकहरुको अङ्गालोमा, त्यस्तै कहिले दृष्टिबिहिनसंग देखिन्छ त, कहिले युवाहरूको माझमा । कहिले असहायले टेक्ने लौरी बनिरहेको हुन्छ, कहिले लागू औषध रोकथाममा त कहिले सामाजिक न्यायमा तत्तचित्त भएर लागिरहेको छ ।
शुक्रवार सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिवन वाटिका स्याङ्जाको समन्वयमा स्याङ्जामा कुलतमा लागेका युवा तथा तिनिहरुका अभिभावक अन्य सरोकारवालालाई परामर्श तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लागूऔषधमा युवाहरु फसिनुको कारण, त्यसबाट बच्ने उपाय एवं समाज र परिवारले लागूपदार्थ न्यूनिकरणको लागि खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । यस अगाडी लागूऔषध तथा कुलतमा लागेका युवाहरुले त्यसबाट आफूहरु कसरी मुक्त भएको र समाजमा सामान्य जीवन विताउन सकेको बारे आफ्नो जीवनको वास्तविक कथा सुनाएका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले आफ्नो कार्यालयले लागूऔषधमा लागेका युवालाई त्यसबाट मुक्त दिल्याउन यस्तो कार्यक्रम गरेको र आगामी दिनमा प्रभावित पार्नलाई कला, सीप र क्षमताको विकाससँगै भावि जीवन सरल र सहज ढंगबाट विताउनको लागि सचेतना सँगै परामर्श कार्यक्रम सञ्चालन गर्ने प्रमुख पौडेलले बताएका थिए । उक्त कार्यक्रममा लामो समयदेखि कूलतमा लागेका यूवालाई प्रशिक्षण र परामर्श दिनुभएका समिर गुरुङले सहजिकरण र प्रशिक्षण गरेका थिए । कार्यक्रम जीवन वाटिका स्याङ्जाका अध्यक्ष नविन अर्यालको अध्यक्षतामा भएको थियो ।
त्यस्तै, सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग तथा अपाङ्ग समाज स्याङ्जाको आयोजनामा दृष्टिबिहिन बालबालिकालाई न्यानो कपडा र सरसफाई सामाग्री वितरण गरिएको थियि । फेदीखोला गाउँपालिका वडा नं. २ मा रहेको कालाभैरव माध्यमिक विद्यालय अन्तर्गत दृष्टिवहिन बालबालिकाको लागि स्थापना भएको विशेष स्रोत कक्षामा अध्ययनरत सात जना विद्यार्थीहरुको लागि उक्त सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अभिलाष गुरुङ , सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको थियो । अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए ।
समग्रमा समाजमा भएका हरेक वर्गलाई एकीकृत गर्दै जागरुक तथा सचेत नागरिक बनाउने र रुपान्तरित समाज निर्माण गर्नमा सामाजिक विकास कार्यालय स्याङ्जाको अग्रसरता एकदमै लोभलाग्दो देखिन्छ । समाज विकास र रुपान्तरणको जागरणमा असहायको टेक्ने लौरी बन्दै त दु:खीको मलम बन्दै सामाजिक विकास कार्यालय स्याङ्जाले खनेको नयाँ जागरणको बाटो सबैले अनुसरण गर्नुपर्ने देखिन्छ । बद्लिदो समयको वेग, समाजका सबै वर्गको माग, चाहना र आवश्यकतासंगै सुसूचित र सुसंस्कृत समाज निर्माणमा लाग्न सके पक्कै सामाजिक विकास कार्यालय स्याङ्जाको बाटो अझै फराकिलो, लिएको लक्ष्य परिणाममुखी र पुग्ने गन्तव्य युगान्तकारी बन्नेछ ।