
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले वालिङ उद्योग वाणिज्य संघले गरेका रचनात्मक गतिविधिले वालिङलाई देश तथा विदेशमा चिनाउन मद्दत गरेको बताएका छन् ।
उद्योग वाणिज्य संघको अठारौं साधारण सभामा बोल्दै नगरप्रमुख खाँणले उद्योग वाणिज्य संघले आफ्नो स्थापना कालदेखि गरेका महोसत्व, कृषकलक्षित कार्यक्रम, महिला उद्यमीलक्षित कार्यक्रमजस्ता रचनात्मक कार्यको सुरुवातीले उद्योग वाणिज्य संघलाई मात्र नभई सिंगो वालिङलाई पनि चिनाउन मद्दत पुगेको खाँणले बताएका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले उद्योग वाणिज्य संघ वालिङको गतिविधिले जनप्रतिनिधिले गर्नुपर्ने कार्यलाई पनि सहयोग पुर्याएको दावी गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।
तत्कालीन समयमा राज्य जनप्रतिनिधिबिहिन भएको अवस्थामा पनि उद्योग वाणिज्य संघ वालिङको सक्रियताले वालिङमा नापी कार्यालय, मालपोत कार्यालयजस्ता महत्त्वपूर्ण कार्यालयहरुको स्थापना भएको नगरप्रमुख खाँणको भनाइ थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख खाँणले नेपाल सरकारले लिएको स्मार्ट सिटिको अवधारणालाई पुरा गर्न आफू नेपाल सरकारका अर्थमन्त्रीसंग निरन्तर भेटघाट गरि केही अपुरा कार्यलाई निरन्तरता दिन पटक पटक अनुरोध गरिरहेकोले केही अपुरा कार्यहरु आफ्नो कार्यकाल अवधिभर सम्पन्न हुनेमा विश्वास व्यक्त गर्न आग्रह पनि गरे ।
फरक प्रसङ्गमा बोल्दै नगरप्रमुख खाँणले आफू जनप्रतिनिधि भएपश्चात् नै उद्योग वाणिज्य संघ वालिङले कार्यालय सञ्चालनको निम्ति केही सामाग्रीको माग गरेको अझै पनि स्मरण रहेको बताउँदै नगरप्रमुख खाँणले आगामी कार्यपालिकाको बैठकबाट निर्णय गरी कार्यालयलाई आवश्यक पर्ने रकम तथा सामाग्री उपलब्ध गराउने प्रतिवद्धता समेत गरे ।