
वालिङ् चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः प्रकाश न्यौपाने चयन भएका छन् । वालिङ् चेम्बर अफ कमर्सको दोस्रो अधिवेशनले यसअघि पनि अध्यक्ष रहेका न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि १७ सदस्यीय जिल्ला कार्यसमिती सर्वसम्मत चयन गरेको जनाएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पङ्गेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ र पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँण र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ रहेका छन् ।
अधिवेशनमा बोल्दै वालिङ् नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले व्यवसाय उपभोक्तामैत्री हुनुपर्ने बताए । नगरप्रमुख खाँणले भने, 'व्यवसाय नाफामुखी मात्र होइन, उपभोक्तामैत्री पनि हुनुपर्छ ।' व्यवसायीले मूल्यसूची राख्ने, म्याद गुज्रिएका सामाग्री नराख्ने र उपभोक्ताको स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्नेमा नगरप्रमुख खाँणको भनाइ छ ।