Syangja Dainik Media
प्याब्सन स्याङ्जाको अध्यक्षमा राजेन्द्र गोदार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला शाखाको १५ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले राजेन्द्र बहादुर गोदारको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । 

आगामी ३ वर्षको कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा याम प्रसाद डुम्रे, उपाध्यक्षमा तेजबहादुर राना (तेजन), सचिवमा हरिप्रसाद अर्याल, सहसचिवमा सोमुमाया राना, कोषाध्यक्षमा मेकराज केसी र सहकोषाध्यक्षमा टेकराज सुवेदी रहेका छन् ।

सदस्यमा मनोज खड्का, स्मृति काफ्ले, सुवर्ण लुइँटेल, साजन परियार, ध्रुवबन्धु पौडेल, द्रवेन्द्रदेव खनाल, हरिप्रसाद अधिकारी, दुर्गाप्रसाद भट्टराई, गिरिराज वाग्ले (बिमल) र रामकृष्ण सुवेदी रहेका छन् । 

अधिवेशनमा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी विद्यालयबीचको विभेद हटाउनुपर्ने बताए । शिक्षा क्षेत्रका लागि ठूला लगानी तथा मिहिनेत गरिरहँदा राज्यले निजी विद्यालयलाई हेर्ने नजरमा विभेद गर्न नहुने उनको भनाइ छ । उनले निजी विद्यालयका सञ्चालकहरुलाई पनि भौतिक निर्माणमा भन्दा मानवीय स्रोतसाधनको विकासमा लाग्न जोड दिए । क्रमिक रुपमा शिक्षामा परिवर्तन भएको बताउँदै अधिकारीले सरकारसंग पनि वार्ता गर्दै निजी विद्यालयलक्षित नयाँ शिक्षा ऎन बनाउनका लागि लडिरहेको बताए ।  

कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्य, नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल, नेकपा एमाले स्याङ्जाका सहसचिव अमृत श्रेष्ठ, रास्वपा स्याङ्जाका सभापति विश्वास भण्डारी, एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरी, प्याब्सन गण्डकी प्रदेशका सल्लाहकार अमृत अर्याल, पूर्व केन्द्रीय सदस्य ध्रुवप्रसाद शर्मा पंगेनी, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, प्याब्सनका पूर्व जिल्ला अध्यक्ष हर्कबहादुर कार्की, रेडियो स्याङ्जाका अध्यक्ष ध्रुववन्धु पौडेल, कोशेली पब्लिकेशनका गोपाल ध्वजुलगायतले निजी विद्यालयको योगदानको बारेमा बोलेका थिए ।

शैक्षिक गुणस्तर वृद्धिका लागि राज्य र सरोकारवालाबीच सहकार्य हुन जरुरी रहेकोमा जोड दिँदै वक्ताहरुले निजी तथा आवासीय विद्यालयले नेपालको शिक्षा क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको कुरामा प्रकाश पारेका थिए । उनीहरुले तनमनसहित शिक्षा क्षेत्रमा अग्रसर रहन विद्यालयका सञ्चालकहरुलाई सुझाएका थिए ।

सो अवसरमा प्याब्सन स्याङ्जाद्वारा आयोजित जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी कि छात्रा अनुषा केसी, द्वितीय रोशनी अङ्ग्रेजी बोर्डिङ स्कुलका छात्र प्रकाश कोइराला, तृतीय पाइनिज कि छात्रा प्राप्ति काफ्ले र चौंथो स्थान प्राप्त गरेका बालोदय माविका छात्र प्रशन्न अर्याललाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, संस्थागत विद्यालयबाट एसईई परिक्षामा ४.० जिपिए ल्याउने पिस जोन एकेडेमीका छात्र संगीत भुसाल (२०७९)  र चिराग एकेडमीका छात्र उमेश चापागाईं (२०८०) लाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा प्याब्सन स्याङ्जाका पूर्व अध्यक्षहरू बुद्धीसागर त्रिपाठी र पुष्पराज बराललाई सम्मान गरिएको थियो । प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रेको अध्यक्षतामा सम्पन्न खुला सत्रको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजेन्द्रबहादुर गोदारले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण प्याब्सन स्याङ्जाका सचिव लेखनाथ रेग्मी (अमृत) ले गरेका थिए । सो कार्यक्रममा स्याङ्जा माध्यमिक विद्यालयका विद्यार्थीको स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा जिल्लास्थित संस्थागत विद्यालयका सञ्चालकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । प्याब्सन स्याङ्जाको अधिवेशन सुरु हुनु अगाडि केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले भवनको शिलान्यास गरेका थिए । भवनको शिलान्यास गर्दै अधिकारीले इन्जिनियरिङ खर्चसहित आफ्नोतर्फबाट एक लाख ५१ हजार रुपियाँ नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्
अर्जुनचौपारी
Weather Update