
नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने बताएका छन् ।
नेपाली काङ्ग्रेसको सय दिने विशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको सातबुदे सहमति तलमाथि नहुने भन्दै सबैको सहमतिमा २०८४ साल भित्र संविधान संशोधन हुने बताएका हुन् । उनले भने, "संविधान संशोधन काङ्ग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ । त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।"
कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने उनले बताए । काङ्ग्रेस र एमालेको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमालेबाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्ने तर्फ संकेत गर्दै पूर्व मन्त्री गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताए । उनले दिनहुँ मिडियाले सरकार ढल्नै लाग्यो भन्ने जस्ता समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ मात्रै दिएको भन्दै सरकार ढल्ने जस्ता समाचारमा केन्द्रित नहुन आम नागरिकलाई आग्रह समेत गरेका छन् ।
कानुन अभावमा देशमा गाजाखेती, घरेलु मदिरा ब्राण्डिङदेखि नेपालको जडिबुटी उपयोगिता समेत बाधा पर्दा देशको अर्थतन्त्र खस्कदै गएको तर्फ केन्द्रित गर्दै उनले यी लक्षित कानुन बनाउन सके विदेश जाने युवा रोकिने मात्रै नभएर विदेश गएका युवा समेत फर्किने उनक्क धारणा राखे ।
पूर्व कानुन मन्त्री समेत रहेका गुरुङले नेपालीको भाग्य कानुनले खोसेको दाबी समेत गरे । जडिबुटी, घरेलु मदिरा, नोट बन्दी र गाँजासम्बन्धी कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको यात्रा पुरा हुनेमा उनको जोड थियो ।