Syangja Dainik Media
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा माघे संक्रान्ती मेलाको अवसरमा भएको तेस्रो वडा अध्यक्ष कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

कारिकोट स्पोर्ट्स क्लबको आयोजनमा कालीगण्डकी गाउँपालिका  -१ स्थित धगौती बगर, तीनमुखे पुलमा भएको भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको निसीखोला गाउँपालिकालाई ३ – २ को सेटमा २५ – १६, २५ – १७, २४ – २६, २३ – २५ र १५ – ९ को अङ्कले पराजित गर्दै उपाधि जितेको हो । 

Ismt_Pokhara

उपाधिसङ्गै बौदीकालीले एक लाख ५० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता निसीखोलाले एक लाख रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । 
 
शिल्ड, मेडल र प्रमाणपत्रसहित तेस्रो कालीगण्डकी गाउँपालिकाले ५० हजार रुपियाँ र सान्त्वना बनेको भीरकोट नगरपालिकाले २५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र पाएको गण्डकी प्रदेश भलिबल संघका क्याप्टेन हरि पाण्डेले बताए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बौदीकालीका अशोक श्रेष्ठ, उत्कृष्ट स्पाइकर निसीखोलाका प्रकाश सुनार, उत्कृष्ट ब्लकर बौदीकालीका हिमाल सुनारी, उत्कृष्ट सर्भर निसीखोलाका नकुल शाही, उत्कृष्ट डिफेन्डर भीरकोटका जित शाही, उत्कृष्ट सेटर कालीगण्डकीका सुदीप राना र उत्कृष्ट कोच बौदीकालीका योगस ठाडा मगरलाई पुरस्कृत गरिएको थियो ।  

प्रतियोगितामा विजेता तथा उपविजेतालाई गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा बौदीकाली गाउँपालिका, निसीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, भीरकोट नगरपालिका, चापाकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको सहभागी रहेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update