Syangja Dainik Media
अत्यन्त शक्तिशाली हुनेछ अर्जुनचौपारीमा स्थापना भएको नवग्रह मन्दिर

२०२५ को जनवरीको मध्यमा अद्भुत खगोलीय घटना हुनेछ जसमा पृथ्वीका आकाशमा सात ग्रहहरू पङ्तिबद्ध हुनेछन् । यस समयमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, वृहस्पति, शुक्र र शनि ग्रहहरू मिलेर एउटा अद्वितीय शक्ति समिश्रणको निर्माण गर्नेछन् जसको दृष्य पृथ्वीबाट नाङ्गो आँखाले समेत अवलोकन गर्न सकिनेछ ।

ज्योतिष शास्त्रअनुसार यसमा अझ विशिष्टता के छ भने यस्तो घटना ब्रहमाण्डमा आगामी १४४ वर्षपछि मात्र आउँछ । ग्रहका गुरु मानिने वृहस्पति हरेक राशिमा १२ वर्ष रहने हुँदा १४४ वर्ष अघिदेखि सुरु भएको एक चक्र यस अवधिमा पूरा गरी अर्को राशिमा प्रवेश गरेका छन् र वृहस्पतिको सोही राशि परिवर्तनले निकै ठूलो धार्मिक अर्थ राख्दछ र यसलाई सकारात्मक रुपान्तरण र आत्मिक उन्नतिको प्रतीकका रूपमा समेत हेरिन्छ ।

Ismt_Pokhara

सनातन धर्मका विभिन्न पुराण एवम् वेदमा समेत उल्लेख गरिएको महाकुम्भलाई समुद्र मन्थनसँग पनि जोडिएको छ । तथापी, ज्योतिषशास्त्र अनुसार यस अवधिमा मुख्यतः सूर्य, वृहस्पति र चन्द्रमाको स्थानलाई प्राथमिकतामा राखेर हेर्ने गरिन्छ । यस अवधिमा वृहस्पति कुम्भ राशिमा प्रवेश गर्छन् भने मकर संक्रान्तिका समयमा सूर्य मकर राशिमा प्रवेश गर्दछन् । यी दुवैको संयोजनले एक शक्तिशाली खगोलिय सन्तुलनको सिर्जना गर्दछन्, मानव मस्तिष्क र आत्मालाई पवित्र बनाउँछन् ।

Arjp-navagrah2-1737557052.jpeg

कुनै नयाँ कामको सुरुवात गर्नका लागि यस समय ज्योतिषिय तथा धार्मिक रुपले पनि अत्यन्त शुभ मानिन्छ । सम्पूर्ण ग्रहहरुको शान्ति गरी मोक्षको प्राप्तिका लागि यस खगोलिय संयोग निकै महत्वपूर्ण मानिन्छ । अझ सूर्य र वृहस्पतिको संयोजनलाई चन्द्रमाको प्रभावले पनि विशिष्टता बढाउने विश्वास गरिन्छ । त्यसैले यस अवधिभित्र पर्ने पौष पूर्णिमा, मौनी अमावस्या, वसन्त पञ्चमी, महाशिवरात्रीमा दुई नदीको संगमस्थलमा गरिने विशेष स्नानले मानिसमा बुद्धि, ज्ञान तथा विवेकको वृद्धि हुन्छन् भने सम्पूर्ण दुःख, चिन्ता नष्ट भई अध्यात्मिक जागरण बढ्दछ ।

विरलै आउने यस विशेष महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुनेहुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्नेगरी अर्जुचौपारी गाउँपालिका १ मा नवग्रह मन्दिरको निर्माण गरिएको छ । सम्पूर्ण नवग्रहहरु पृथ्वीका निकटमा आउने यस समयमा अनुष्ठानका लागि यो भन्दा उत्तम समय अरु कुनै नरहेको सन्त महात्माहरुको कथन समेत रहेको छ । अझ महाशिवरात्रीका दिनमा सम्पन्न हुनेगरी आयोजना गरिएको नवग्रह मन्दिर अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सवले सम्पूर्ण भक्तजनहरुको रक्षा गर्ने, पापबाट मुक्ति गरी आत्माको शुद्धिकरण गर्ने र मोक्षप्राप्तिको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।  अतः महाकुम्भको यस शुभअवसरमा गरिएको नवग्रह मन्दिर अनुष्ठान अन्य समय भन्दा लाखौँ गुणा बढी प्रभावशाली हुने र सम्पूर्ण जगतमा यसको सकारात्मक ऊर्जा फैलिनेछ ।
  

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update