
बिरुवा प्रज्ञा–प्रतिष्ठान, स्याङ्जाको आयोजना एवं गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा बिरुवा गाउँपालिकास्थित विद्यालयस्तरीय एकल लोक गायन प्रतियोगिता–२०८१ नवज्योति माध्यमिक विद्यालयको प्राङ्गण, बिरुवा–१, स्याङ्जामा भव्यताका साथ सम्पन्न भएको छ ।
माघ ११ गते शुक्रबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बिरुवा गाउँपालिकाका अध्यक्ष एवं बिरुवा प्रज्ञा–प्रतिष्ठानका संरक्षक सूर्य बहादुर कुँवरले स्थानीय स्तरमा रहेका विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न बिरुवा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा बिरुवा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, वडा नं. ८ का वडा अध्यक्ष नबिन आले, नवज्योती माविका प्रधानाध्यापक बम बहादुर राना, नेपाली काङ्ग्रेस बिरुवाका सभापति डिआर पोखरेल र नेकपा एमाले बिरुवाका सचिव गोपाल कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने राष्ट्रिय संगीतकर्मी संघ, गण्डकी प्रदेशका महासचिव बालकृष्ण वाग्ले र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका महिला सचिव ज्योति लोहनीले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
बिरुवा गाउँपालिकास्थित दस विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भुरुङ्चौकी मा.वि., बिरुवा–८ का तीलमाया वि.क.ले प्रथम, जीवनज्योति मा.वि., बिरुवा–७ का किन्जल गुरुङ दोस्रो, दिव्यप्रकाश मा.वि., बिरुवा–४ का ममता सुनारले तेस्रो र बिरुवा मुनलाइट कम्युनिटी एकेडेमी, बिरुवा–१ अनन्तराज पोखरेलले सान्त्वना स्थान हासिल गरेका थिए भने जनबालकल्याण आ.वि., बिरुवा–६ का स्मृति वि.क. र नवज्योति मा.वि., बिरुवा–१ का निर्मला रानाले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको निर्णायक संयोजकमा लोकदोहारी गायक खड्क गुरुङ रहेका थिए भने निर्णायक सदस्यमा लोकदोहारी गायकहरु गणेश राना र बालकृष्ण वाग्ले रहेका थिए ।
बिरुवा प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शंकर विरही गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिरुवा प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक पिताम्बर शर्माले स्वागत मन्तव्य राखेका थिए भने शिक्षा शाखाका प्रा.स. शिव गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतियोगितामा नवज्योति मा.वि.मा अध्ययनरत विद्यार्थीहरुले स्वागत नृत्य र कौडा नृत्य समेत प्रस्तुत गरेका थिए ।