
स्याङ्जाको वालिङ् नगरपालिकामा स्कार्पियो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । वालिङ् नगरपालिका – १४ तमादी स्थित वालिङ् – पर्वत कच्ची सडकखण्डमा वालिङ्बाट सिरबानी जाँदै गरेको ग १ च ८९१३ नम्बरको स्कार्पियो जिप सडकबाट चार मिटर तल खस्दा दुर्घटना भएको हो ।
मंगलबार बिहान करिब ८ बजे भएको दुर्घटनामा स्याङ्जा वालिङ् नगरपालिका – १४ सिरबानीका ६३ वर्षीय उमापति डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे र ५२ वर्षीय भिम प्रसाद डुम्रे साथै पर्वत पैँयु गाउँपालिका – ६ हुवासका ३३ वर्षीया कुमाकला तिवारी र ११ वर्षीय कमल तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचार भइरहेको डिएसपी पौडेलले बताए । डिएसपी पौडेलले चालकसहित ८ जना सवार स्कार्पियो दुर्घटनामा तीन जना सकुशल रहेको जानकारी दिए ।
दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान अगाडि बढाइएको डिएसपी पौडेलको भनाइ छ ।