Syangja Dainik Media
सामाजिक सञ्जाललाई नियमनको प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो छैनः ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतामा सरकार दृढ रहेको बताएका छन् ।

सरकारले प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकका सन्दर्भमा उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाललाई नियमन गर्नु प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो नभएको बताए ।

पुतलीबजारमा आयोजित प्रेस चौतारी नेपाल स्याङ्जाको छैटौं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन, यसमा निश्चिन्त हुन आग्रह गरे ।

उनले भने– ‘भर्खरै सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक प्रस्तुत गरेको छ, यस सम्बन्धमा विभिन्न खालका बहसहरु छन् । हरेकले के बुझ्‌न जरुरी छ भने यदि मिथ्या सूचनाहरुको भीडबाट सत्यलाई जोगाउन सकेनौं भने हामीले सत्यलाई रक्षा गर्न सक्दैनौँ । कहिँ न कहिँ सामाजिक सञ्जालहरुलाई मर्यादित बनाएनौं भने समाजलाई जोगाउन सक्दैनौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ छ, त्यो अभिव्यक्ति मर्यादित होस्, सामाजिक सद्भावलाई बलियो बनाउने होस्, व्यक्तिको चरित्रहत्याको माध्यम नबोस भन्ने ढङ्गबाट यो कुरा ल्याइएको हो । लोकतन्त्र भनेको छाडातन्त्र होइन, आफैमा मर्यादित प्रणाली हो । यदि त्यो मर्यादित भएन र अराजकतन्त्र र भीडतन्त्रमा रुपान्तरित भयो भने लोकतन्त्र र देशलाई जोखिम हुनेछ ।’

उपमहासचिव ज्ञवालीले वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संविधानले पूर्णरुपले प्रत्याभूत गरेको र यसलाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताए ।

पछिल्लो समय समाचार के हो, के होइन, पत्रकार को हुन् को होइनन्, सत्य के हो सत्य के होइन भन्ने नयाँ बहस अगाडि आइरहेको उनले उल्लेख गरे । उनले भने – ‘प्रविधिको प्रयोगसँगै सत्य र सही सूचनालाई जोगाउने चुनौती हाम्रा सामु एकदमै ठूलो बनेको छ । किनभने संसारैभरी अहिले मिस इन्फरमेशन र डिस इन्फरमेशनको बाढीभित्र बगिरहेको छ । यसले गर्दा मान्छेहरुलाई सत्य के हो ? असत्य के हो सही सूचनाहरु के हुन् ? मिथ्या वा भ्रामक सूचनाहरु के हुन् भन्ने बारेमा ठूलो प्रश्न चिन्ह छ ।’

उनले सिङ्गो सामाजिक मनोविज्ञानलाई तरङ्गित गरिरहेको स्थितिभित्र प्रेस चौतारी नेपाल एवम् श्रमजीविहहरुको हकहित र रक्षा गर्ने प्रश्न रहेको उल्लेख गरे । अहिले पनि कैयौं मिडियाहरुमा न्यूनतम पारिश्रमिक पनि नपाइकन सस्तोमा काम गर्नुपरेको छ । कतिबेला बिग हाउसहरूले राख्दैनन् भन्ने टुङ्गो छैन । जीविकाकै चिन्ता भैसकेपछि क्वालिटीको सामग्री उत्पादन कहाँबाट होस् ?’ उनले भने ।

सरकारको सन्दर्भलाई जोड्दै उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्व कायम गर्ने, अर्थतन्त्रलाई गति दिने, राष्ट्रिय हितको सम्वर्द्धन गर्ने र जनतामा आशा र भरोसा जगाउने उद्देश्यका साथ नेकपा एमाले र नेपाली काङ्ग्रेस दुई ठूला पार्टीहरु मिलेर सहकार्य गरेको बताए ।

केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार उद्देश्य अनुरुप अगाडि बढेको उनको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update