
अवैध रूपमा ढुङ्गा गिट्टीको ओसारपसार भएको वालिङ् नगरपालिका – १३ घोसरदुममा स्थानीयको प्रतिरोध पश्चात् स्याङ्जा प्रशासनले अनुगमन गरेको छ ।
सडक निर्माण तथा कालोपत्रेका नाममा टुण्डी आरएस जेभी निर्माण कम्पनीले सडक बनाउन भन्दा पनि ढुङ्गा गिट्टी निकासी गरेपछि स्थानीयले प्रतिरोध गरेका थिए ।
प्रतिरोध गर्ने स्थानीयलाई खाल्डो खनेर पुर्ने ठेकेदारको धम्की पछि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय र सडक डिभिजन कार्यालयको टोली अवैध ओसारपसार गरिएको ठाउँ वालिङ् – १२ घोसरदुममा पुगेको हो ।
अवैध ओसारपसार भएको प्रतिरोध गर्ने स्थानीयलाई खाल्डो खनेर पुर्ने धम्की दिने ठेकेदार कम्पनीका पक्षलाई अब आइन्दा यस्तो भाषा र धम्की दिए कानुनबमोजिम कारबाही अगाडि बढाउने गरी माफी सहित प्रहरीले चेतावनी दिएको थियो ।
सार्वजनिक वन अतिक्रमण गरी लाखौंको ढुङ्गा गिट्टी निकासी गरिएको विषयमा स्थानीयले विरोध जनाउँदै आएका छन् ।
ठेकेदार कम्पनीले सरोकार नभएको क्षेत्रबाट केही मान्छेलाई प्रभावमा पारेर लाखौंको ढुङ्गा, गिट्टी अर्को ठाउँमा निकासी गरेको स्थानीय विनोद थापाले बताए ।
उनले नौ फुटको बाटोमा ३६ फुट चाक्लो र ४० फुट उचाई बाटो खनेर ढुङ्गा, गिट्टी निकासी गरेको र विरोध गर्दा सोही ठाउँमा पुरी दिन्छु भनेर गाउँलेलाई धम्काएको बताए ।
थापाले प्रशासनको टिमले न्याय दिनुको सट्टा ठेकेदारसँग मिलापत्र गरेको र काम ठिक छ भनेर नभने पनि ठेक्का रोकिन सक्ने भनेर धम्क्याउने काम गरेको बताए ।
प्रशासनको अबको दिनको कानुनी प्रक्रिया हेर्ने समय आएको बताउँदै थापाले आफूहरु भने असुरक्षित रहेको बताए ।
निर्माण कम्पनीले वालिङ् हुवास रोडको भुम्रे – अर्चलबोट – तमादी – डुम्रेभञ्ज्याङ – बानीडाँडा हुँदै सेतिबेनी जाने सडक विसं २०७९ बैशाख ६ गते तीन बर्षमा कालोपत्रे गर्ने गरी २० करोड २८ लाख नौ हजार ५०१ रुपैयाँ छ पैसामा सम्झौता गरेको थियो ।
अनुगमन पश्चात् ढुङ्गा गिट्टी निकासी तत्कालका लागि रोकिएको छ भने प्रशासन, वन कार्यालयले मुद्धा चलायर कानुनी प्रक्रिया अगाडि बढाएको छ ।