
कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट स्याङ्जाका तीन गाउँपालिका प्रथम, द्धितिय र तृतिय भएका हुन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन कार्य विधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरिएको थियो । स्याङ्जामा एघारवटा स्थानीय तह रहेकामा कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंकसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदीखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो । त्यस्तै, आँधीखोला गाउँपालिका युवा नेता विश्व पौडेलले नेतृत्व गरेका छन् । तीनवटै गाउँपालिकाका अध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेकामा यहाँका नगरपालिकाहरुको कार्यसम्पादन कमजोर देखिएको छ । नगरपालिकामध्ये वालिङले ७३.७, पुतलीबजारले ७१.७, गल्याङले ६६.१, भीरकोटले ६५.७ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ ।
यसैगरी, गाउँपालिकातर्फ बिरुवाले ७४.३, अर्जुनचौपारीले ६४.९ र हरिनासले ५४.२ अंक प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका सात सय ५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ ।