Syangja Dainik Media
नवग्रह मन्दिर दर्शन गर्न पुगे सन्दिप

नेपालमै पहिलोपटक निर्माण गरिएको नवग्रह मन्दिरमा क्रिकेटर सन्दिप लामिछानेले दर्शन गरेका छन् । अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरमा लामिछाने आफ्ना पिता र मातासहित दर्शन गर्न पुगेका हुन् ।

क्रिकेटर लामिछानेलाई मन्दिर परिसरमा गाउँपालिका अध्यक्ष, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सुरक्षा अधिकारीले स्वागत गरेका थिए ।

Ismt_Pokhara

गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अन्तर्गत कक्षा – ४ को पुस्तकमा यहाँको वडा नं – ५ का स्थायी घर भएका क्रिक्रेटर लामिछानेको जिवनी समेत समावेश गरेको छ ।

१४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ फागुन ६ गतेदेखि प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव गरिएको छ ।

महोत्सवमा चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको छ । फागुन १४ गतेसम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा शिवरात्रीको दिन एक करोड २५ लाख दीप प्रज्वलन समेत गरिने छ ।

नेपालकै पहिलो नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठान, गीता ज्ञान एवं धार्मिक महोत्सवको तेस्रो दिन बेलुकी र चौथो दिन दिउँसो लोक दोहोरी गायक खुमन अधिकारीले पनि साङ्गितिक प्रस्तुतिले भक्तजनहरुलाई मनोरञ्जन दिएका थिए ।

मन्दिर दर्शन गर्न पुगेका लामिछाने र अधिकारीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । यस मन्दिर दर्शनका लागि दिनहुँ भक्तजनहरुको घुँईचो लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update