Syangja Dainik Media
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ

रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । रेबिजको लक्षण देखिएका मृत जनावरहरु किनबेच गर्ने वालिङ्का दुईजनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा वालिङ् नगरपालिका – ५ का ५५ वर्षीय राजेन्द्र बहादुर केसी र ८ का ५० वर्षीय शंसुदिन मियाँ रहेका छन् । 

Ismt_Pokhara

केसीले संक्रामक रोग रेबिजको लक्षण देखिएका घर पालुवा जनावरहरु एउटा भैंसी, एउटा भैंसीको पाडो, एउटा बाख्रा र एउटा बाख्राको पाठी बेचेका थिए भने मियाँले जनावरहरु खरिद गरेका थिए । संक्रामक रोग रेबिजको लक्षण देखिएका जनावरहरु किनबेच गरेका दुईजनालाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जनावरहरु खरिद गरेर वालिङ्बाट भीरकोटतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले मियाँलाई पक्राउ गरेको हो । सिद्धार्थ राजमार्गस्थित वालिङ् – १ मा मियाँले जनावरहरु लैजाँदै गरेको सवारीसाधन नियन्त्रणमा लिएर खानतलासी गर्दा प्रहरीले मृत जनावरहरु बरामद गरेको डिएसपी पौडेलले बताए ।

वालिङ् नगरपालिकाको पशु प्राविधिक टोलीले मृत भैंसीको परिक्षण गर्दा संक्रामक रोग रेबिजको लक्षण देखिएको पुष्टि भएको डिएसपी पौडेलले जानकारी दिए ।

पक्राउ परेका दुईजनालाई संक्रामक रोग फैलाउन नहुने कसुर मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update