Syangja Dainik Media
राप्रपा आँधीखोलाको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्याङ्जाको आँधीखोला गाउँपालिकाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । बिहिबार राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले देशमा धेरै उथलपुथलबाट नै व्यवस्था परिवर्तन हुने बताए । देशमा संघीयता आएपछि जनताको दैनिकी परिवर्तन हुन्छ भन्ने आशा पूरा हुन नसकेको उनको भनाइ छ ।

'देशमा च्याउ उम्रे जस्तो पार्टी उम्रिए पनि जनतासँग चुनावको समयमा मात्र देश परिवर्तनको सपना बाँड्छन्', उनले भने । गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य गुरुङले अहिलेका नेता देश र जनता भन्दा पनि आफ्नो जीवनशैली परिवर्तन गर्नतिर लागेको बताए ।

Ismt_Pokhara

विकास पार्टीको मात्रै नभई सबैको साझा रहेको उनको भनाइ छ । 'राजा फाले विकास हुन्छ, जनताको अवस्था फेरिन्छ भने ठीक छ भनेर हामी मौन बस्यौं', उनले भने, 'समर्थन गर्यौँ तर, खै यत्तिका वर्षमा जनताको अवस्था फेरिएको ?'

धर्मको नाममा विदेशी डलर ल्याएर धर्म निरपेक्षता गरिएको बताउँदै उनले उक्त रकमबाट नेपाली नेता धनाड्य हुन थालेको बताए । 'हामीले राजतन्त्र होइन राजसंस्था ल्याउने हो', उनले दोहोर्‍याए, 'राजाको बेला तानाशाही थियो भनेर भ्रम फैलाइएको छ । २०४७ साल अघि राजाले पनि संविधान अनुसार नै काम गरेको छ । अहिलेका नेता राजा भन्दा माथी भए । यिनीहरूलाई जनताले परीक्षा गरिसके ।'

उनले नेताले पटकपटक गरेका गल्तीलाई माफ दिन नसकिने बताउँदै राप्रपा आफ्नो मूल्य र मान्यतालाई आत्मसात राख्दै अघि बढेको तर्क राखे । दस वर्षे द्वन्दले केही नयाँ अवसर ल्याएको भएपनि दस वर्ष पछाडि पनि धकेलिएको उनको भनाइ थियो । 'अब जनता एक ठाउँमा उभिएर देशलाई नवीन समझदारीबाट निकास दिने गरी उभिन आवश्यक छ', उनले भने ।

पार्टीका केन्द्रिय सदस्य हिक्मतजंग कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतलाई नयाँ ढंगबाट सोच्न बाध्य बनाएको बताए । 'राजाको भ्रमणले जनता राजा र राजतन्त्रको पक्षमा रहेको देखाउँछ', उनले भने, 'स्याङ्जामा लागेको भीड, पोखरामा नागरिकको उपस्थिति र राजाको काठमाडौंको भव्य स्वागतले यो प्रमाणित गर्दछ।'

उनले गणतन्त्रले मुलुकको न्याय नगरेको बताउँदै सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्नसमेत नसकेको बताए । गणतन्त्रले गाउँमा विकास नल्याएको उनको दाबी छ । 'अहिले सरकार कहाँबाट कसरी लुट्न सकिन्छ भन्नेतिर केन्द्रित छ । ठूला दुई दलले सरकार चलाएका छन् । बाहिर देखाउँदा एकथरी, भित्र अर्कै छन्,' उनले भने, 'प्रतिपक्षमा बस्दा अवसर नपाउने र माओवादीले एकलौटी नेतृत्व गर्दा एक्लै खायो भनी काङ्ग्रेस र एमालेले रातारात सरकार बनाए ।' उनले हिन्दु राष्ट्रसहित राजसंस्था आएपछि जनताको समस्या र गुनासा सम्बोधन हुने विचार पनि व्यक्त गरे ।

बिहिबार आँधीखोला गाउँपालिका – ५ जुग्लेमा सम्पन्न पाँचौ अधिवेशनले सुर्य बहादुर ढकालको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा र सचिवको पदमा टुंगो लागेको छैन भने, कोषाध्यक्षमा हिरा अधिकारी निर्वाचित भएका छन् । यसअघि पालिकाको छ वटै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ । वडा नम्बर – १ मा भुवानीप्रसाद लामिछाने, २ मा निर्मला विक, ३ मा ओमप्रकाश शर्मा, ४ मा दुर्गाप्रसाद उपाध्याय, ५ मा कृष्णबहादुर क्षेत्री र ६ मा ओमबहादुर गुरुङ रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update