
सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) आज स्याङ्जाको वालिङमा हुँदैछ ।
पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा जारी प्रथम पिङ्क सिटी महोत्सव वालिङ – २०८१ को अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने छन् ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउने अभियान अन्तर्गत वालिङमा दोश्रो श्रृंखला हुन लागेको ‘व्याक टु नाइन्टिज’का संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड गुञ्जिने उनले बताए । कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिन सक्नेछन् ।
वालिङमा हुने सेकेण्ड एडिसनसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान सुरु हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए ।
नब्बेको दशकमा उदाएर पोखरालाई व्याण्डहरुको राजधानी बनाएका यी व्याण्डहरुले सोहि विरासत फर्काउन संघका सचिव भाष्करध्वज श्रेष्ठको ‘व्याक टु नाइन्टिज’को कन्सेप्ट जन्मिएको हो । पोखराको अपार सफलतासँगै यो अभियान देशव्यापी लैजाने तयारीमा कलाकार संघ रहेको छ । वालिङपछि म्याग्दीको बेनी, लमजुङको बेशीसहर, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमा गर्ने तयारी भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रबर्द्धकका रुपमा रहनेछ ।
वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा जारी प्रथम पिङ्क सिटी महोत्सव वालिङ् – २०८१ चैत ३ गतेसम्म चल्नेछ ।