Syangja Dainik Media
पर्यटकीय क्षेत्र स्वरेक मैदान जोड्ने सडक कालोपत्रे हुँदै

स्याङ्जाको भीरकोट नगरपालिका सदरमुकाम बयरघारी बजारदेखि पर्यटकीय क्षेत्र स्वरेक मैदान जोड्ने सडक कालोपत्रे हुँदै छ । यहाँको प्रसिद्ध पर्यटकीय क्षेत्र सवरेक मैदान जाने पर्यटन सडक स्तरोन्नति प्राथमिकतामा परेको हो । 

भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारदेखि नौ किलोमिटर दुरीमा रहेको स्वरेक मैदान प्याराग्लाइडिङका लागि प्रसिद्ध रहेको छ । 

यो सडक सुन्दरबजारदेखि तल्लो नेटासम्म १.५ किमि यसअघि कालोपत्रे भएको थियो । यहि आर्थिक वर्षमा पालिकाले तल्लो नेटादेखि आग्रीडाँडा (माथिल्लो नेटा)सम्मको आठ सय मिटर सडक कालोपत्रे गरेको हो ।

Ismt_Pokhara

यो सडकखण्ड रोजिना कन्स्ट्रक्सन, वालिङ्ले भ्याट र पिएससहित ६४ लाख ६७ हजार ८ सय २४ रुपैयाँ ७४ पैसामा भीरकोट नगरपालिकासङ्ग ठेक्का सम्झौता गरेर कालोपत्रे गरेको हो ।

कम्पनीले सम्झौता अवधिभन्दा तीन महिना अगावै काम सकेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सरोज पराजुलीले जानकारी दिए ।

पालिका सदरमुकाम बयरघारीदेखि सुन्दरबजारसम्मको करिब दुई किमि सडक अहिले कालोपत्रे हुने चरणमा रहेको छ । एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संघीय सरकारको लगानीमा यो सडक स्तरोन्नति तथा कालोपत्रे हुन लागेको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को फागुन महिनाभित्र काम सक्ने गरी ग्राण्ड एस के एण्ड शिव जेभीले आठ करोड २४ लाख ५५ हजार ५५६ रुपैयाँ ठेक्का सम्झौता गरेको यस योजनामा सडक कालोपत्रे, भीरकोट पार्क नजिकै तालसहित अन्य पूर्वाधार समेत निर्माण हुने आयोजनाले जनाएको छ ।

स्वरेक मैदानबाटै गडहरेगुफा र ओखतीपानी होमस्टे जान सहज हुने हुनाले नगरपालिकाले बयरघारी स्वरेक मैदान पर्यटन सडकलाई उच्च प्राथमिकतामा राखेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । उनले स्वरेक मैदान र स्वरेक मैदान जाने पर्यटन सडकलाई पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

करिब ५० प्रतिशत सडक कालोपत्रे हुने निश्चित भैसकेको छ भने संघ र प्रदेश सरकारसँग समन्वय गरेर आगामी दुई वर्षभित्र गन्तव्य स्थलसम्मै सडक कालोपत्रे गर्ने योजना रहेको कर्माचार्यले बताए ।

यहाँको वडा – ५ का स्थानीय दयानिधी अर्यालले पर्यटन मार्गको स्तरोन्नतिले स्थानीय बासिन्दालाई समेत राहत पुगेको बताए । उनको सडक प्राथमिकतामा परेझैं तिव्र गतिमा काम भने हुन नसकेको गुनासो छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update