Syangja Dainik Media
नवग्रह मन्दिरमा शनिग्रह विशेष र साढेसाती पूजा हुने

नेपालकै पहिलो नवग्रह मन्दिरमा यही चैत १६ गते शनिबार शनिग्रह विशेष र साढेसाती पूजा हुने भएको छ ।

अर्जुनचौपारी गाउँपालिका –१ मा हालै निर्माण भएको नवग्रह मन्दिरमा शनिग्रह शान्तिका लागि १६ चैतमा विशेष पूजा हुन लागेको हो । यो पूजा नेपालमा पहिलोपटक आयोजना गरिएको र जुन धार्मिक महत्त्वका दृष्टिले मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समेत विशेष रहने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

विशेष पूजाको अवसरमा नवग्रहका स्वामी शिव, हनुमान तथा शनिदेवको अभिषेक एवं विधिपूर्वक पूजा गरिनेछ । 

Ismt_Pokhara

शनिदेवको निशानप्रतिमा राखिएको रापाकोट कालिका मन्दिरमा समेत पूजा गरिनेछ भने चैत १६ गते सूर्यग्रहण लाग्ने भएकाले यो दिनको पूजालाई अझ विशेष मानिएको छ । 

शनि ग्रहको गुरु राशिमा प्रवेश, कुन ग्रहलाई कस्तो असर ?

ज्योतिष शास्त्रअनुसार नौ ग्रहहरुमध्येका एक शनि ग्रह कर्म, अनुशासन, न्याय, धैर्यता, र जिम्मेवारीको प्रतीक मानिन्छन् ।  शनि मानिसलाई जीवनमा कठोर परिश्रम, धैर्य, र आत्मअनुशासन सिकाउने ग्रह हुन् । नवग्रहहरुमध्ये शनिको सबैभन्दा सुस्त गति भएपनि मानव जीवनमा यसको प्रभाव गहिरो एवं दिगो हुन जान्छ ।

हिन्दु धर्मअनुसार शनि जब कुनै राशिमा प्रवेश गर्छन्, त्यसले सो राशिको गुण धर्मअनुसार फरक प्रभाव पार्छ । यदि शुभ स्थानमा रहे भने यसले सफलता, दृढ इच्छाशक्ति, र स्थायित्व प्रदान गर्छ, तर अशुभ स्थानमा भएमा अवरोध, ढिलाइ, तथा कठिनाइहरू ल्याउन सक्छन् ।

गुरुको राशिमा प्रवेश

यहि चैत १६ गते अर्थात् चैत कृष्ण औंसीका दिनमा शनिग्रह आफ्नो कुम्भ राशिबाट वृहस्पति ग्रहको स्वामित्वमा रहने मीन राशिमा अर्थात् १२औं घरमा प्रवेश गर्नेछन् । शनि ग्रह गुरु बृहस्पतिको राशिमा प्रवेश गर्दा त्यति नकारात्मक असर नदेखिए पनि मानव जीवनमा यसका विभिन्न प्रभावहरु पर्दछन् । ती प्रभावहरु विभिन्न राशिअनुसार फरक–फरक हुन्छन् ।

कुन राशिमा कस्तो प्रभाव ?

मेष राशिः मानसिक तथा आर्थिक तनाव बढ्ने, विदेश यात्रा तथा लामो यात्राको सम्भावना वढ्ने, खर्च वृद्धि तथा एक्लोपनको अनुभूति; आँखा, घुँडा तथा पेटमा समस्या आउन सक्ने

वृष राशिः धन तथा सम्पत्तिमा वृद्धि, यात्राको सम्भावना, पेशागत जीवनमा सफलता मिल्ने

मिथुन राशिः नयाँ जिम्मेवारीका साथसाथै नयाँ तनाब आउन सक्ने, खर्चमा नियन्त्रण नहुने, पारिवारिक झगडा हुन सक्ने, सम्बन्धमा दरार आउने

कर्कट राशिः कामकाजमा रफ्तार आउने, सम्बन्धमा मिठास आउने, लामो यात्रा हुन सक्ने, लामो समयदेखि अड्किएको पैसा प्राप्त हुने, पेट तथा घुँडामा समस्या आउने

सिंह राशिः आत्मविश्वासमा कमि आउन सक्ने, मन अस्थिर हुने, कानुनी मामिलामा सफलता हात पर्ने, मिहिनेत गरेमा कार्यमा सफलता

कन्या राशिः दम्पत्तिको स्वास्थ्यमा असर पर्न सक्ने, समकक्षीसँग झैझगडा हुन सक्ने, करियरमा चुनौति बढ्न सक्ने, मानसिक थकान बढ्ने

तुला राशिः स्वास्थ्य सामान्य हुने तर अल्छी धेरै लाग्ने, शत्रुमाथि विजय प्राप्त हुन सक्ने, धैर्यतामा कमी आउने, पारिवारिक सम्पत्तिमा विवाद आउने

वृश्चिक राशिः प्रेम सम्बन्धमा दरार आउन सक्ने, विवाहमा ढिलाई हुने, सन्तानको स्वास्थ्यले चिन्ता वढ्न सक्ने

धनु राशिः रिस बढ्न सक्ने, साना साना चिजहरु हराउने, आमाको स्वास्थ्यमा असर पर्न सक्ने तथा बुवासँग झगडा पर्नसक्ने

मकर राशिः शनिको साढेसाति समाप्त हुने हुँदा समग्रमा राम्रै हुने

कुम्भ राशिः धनमा वृद्धि हुने, खुट्टा तथा दाँतमा समस्या आउन सक्ने नत्र समग्रमा सामान्य हुने 

मीन राशिः स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने, काममा गल्तीहरु बढ्ने, मनमा हलचल आउन सक्ने, शनिको प्रभाव बढ्ने हुँदा विभिन्न नकारात्मक असर आउन सक्ने, मानसिक तथा आर्थिक तनाब आउन सक्ने, विभिन्न चुनौतीहरु आउन सक्ने ।

शनि ग्रहको नकारात्मक प्रभाव कम गर्न के गर्ने ? 

शनि मीन राशिमा रहँदा सबै राशिहरूमा छुट्टै प्रभाव पार्नेछ । यसले मुख्यतः मीन राशिमा नकारात्मक असर पार्ने भएपनि यसको असर अन्य राशिमा पनि पर्ने देखिन्छ । यसको नकारात्मक असर कम गर्नका लागि शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । साथसाथै, हनुमानको पूजा गर्ने, हनुमान चालिसा पढ्ने, शनिदेवलाई तेल चढाउने, गरिब दीनदुखीलाई भोजन गराउने गरेमा पनि शनि प्रशन्न भई नकारात्मक असर कम हुन सक्छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update