
स्याङ्जाको पुतलीबजार नगरपालिकामा विद्युत जडानसम्बन्धी तालिम सुरु भएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको सहयोगमा यहाँको वडा नं. – १ ले नि: शुल्क तालिम सञ्चालन गरेको हो ।
तालिमको बिहीबार पुतलीबजार नगरपालिका वडा नं. – १ का वडा अध्यक्ष उत्तम प्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । अध्यक्ष श्रेष्ठले तालिममा सहभागीहरुलाई सीप सिकेपछि आत्मनिर्भर बन्न सुझाव दिएका थिए ।
उनले प्राविधिक तालिमको अभाव भइरहेका बेला युवाहरूलाई यो तालिमले स्वरोजगार हुन समेत सहयोग गर्ने उल्लेख गरेका थिए ।
यस्तै, वडा सदस्यहरु हिटलर पौडेल, अनिता रुचाल, विष्णुकुमार श्रेष्ठ, पवित्रादेवी लम्साल र वडा सचिव राम शर्मा पोख्रेल लगायतले तालिमको सहि सदुपयोग गरेर आफूले सिकेको सीपलाई आर्थिक उपार्जन कार्यमा उपयोग गर्न अनुरोध गरेका थिए ।
तीन महिनासम्म चल्ने तालिममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका विशाल अर्यालले प्रशिक्षण दिनेछन् । तालिमामा २५ जना युवाहरुको सहभागिता रहेको छ ।