Syangja Dainik Media
सामुदायिक कुकुरलाई नि: शुल्क बन्ध्याकरण र रेविज विरुद्धको खोप
सामुदायिक कुकुरहरूलाई निः शुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप दिइँदै

पुतलीबजार नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरहरूलाई निः शुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप दिइएको छ ।

यहाँको वडा नं. – ९, कोल्मा र वडा नं. – १०, राङ्खोलामा पुतलीबजार नगरपालिका, पशु सेवा शाखाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अर्न्तगत निः शुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाको प्राविधिक सहयोगमा शिविर तथा खोप लगाइएको हो । यहाँ १४१ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शल्यक्रिया गरिएको हो भने १८९ कुकुरहरुमा रेविज रोग विरुद्धको खोप लगाइएको हो ।

यस्तै, बन्ध्याकरण शिविर तथा रेविज रोग विरुद्धको खोपको क्रममा दुईवटा कुकुरको म्यामरी क्यान्सरको शल्यक्रिया र एक वटा कुकुरको युटेरस क्यान्सरको शल्यक्रिया गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए ।

मानिसमा रेविज रोग ९५ प्रतिशत सामुदायिक कुकुरको टोकाईको कारणबाट हुने बताउँदै श्रेष्ठले रोग न्यूनीकरण गर्न बन्ध्याकरण र खोप लगाइएको बताए ।

यो शिविरमा डा. श्रेष्ठ, डा. अर्जुन अर्याल र डा. अनिल गौतमले बन्ध्याकरण चिकित्सकको काम गरेका थिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चापाकोट, फेदिखोला र बिरुवामा यसअघि ३६४ कुकुरको बन्ध्याकरण र ४०१ वटा कुकुरमा रेविज रोग विरुद्धको खोप लगाएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update