
नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ३ को वडा कार्यालयको नवनिर्मित भवन, वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन र वैघा – रिडी सडकको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
वैघा भञ्ज्याङ्मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशकै पुरानो तथा महत्त्वपूर्ण राजमार्ग भएकाले पनि यो राजमार्गलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।
आगामी आर्थिक वर्षमा स्रोत सुनिश्चित गर्ने कार्यमा सरकार लागेको बताउँदै अर्थमन्त्री पौडेलले यस राजमार्गको स्तरोन्नति पश्चात् पर्यटकीय मार्गको रुपमा विकास गरिने बताए । अर्थमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा समृद्ध कालीगण्डकी निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
नवनिर्मित वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन
कालीगण्डकी गाउँपालिकाको आफ्नै स्रोतबाट निर्मित वडा कार्यालयको भवन निर्माण भएसङ्गै यहाँका नागरिकले सहज रुपमा सेवा पाउने भएका छन् । यो भवन निर्माण भएसङ्गै लामो समयसम्म भाडाको घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
कालीगण्डकी गाउँपालिकाको एक करोड ६९ लाख ९१ हजार ८८६ रुपैयाँ २६ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
वडा नं. ३ को नवनिर्मित वडा कार्यालय भवनमा एक सभाहलसहित सातवटा कोठा रहेका छन् । सोही भवनमा बालमैत्री र अपाङ्गमैत्री शौचालय समेत निर्माण गरिएको छ ।
यस्तै, वडा कार्यालयसङ्गै रहेको वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन समेत उद्घाटन गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण भएसङ्गै सामान्य उपचारका लागि पाल्पा जानुपर्ने समस्याको अन्त्य भएपछि नागरिकहरु खुसी भएका छन् ।
संघीय सरकारको विशेष अनुदान अन्तर्गत एक करोड, प्रदेश सरकारको ४० लाख र स्थानीय सरकारको ३४ लाख ५४ हजार ३७३ रुपैयाँ लागतमा निर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुनेछ ।
यसअघि एउटै कोठाबाट सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेकोमा वडा नं. ३ मा नवनिर्मित वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा आठवटा सुविधासम्पन्न कोठाबाट सेवा प्रवाह हुनेछ ।
यी भवन निर्माण सम्पन्न भइ अब यसैबाट सेवा पाउनु यहाँका नागरिकका लागि सुखद कुरा रहेको छ । यहाँ का नागरिकले छिटोछरितो र सुलभ ढंगबाट गुणस्तरीय सेवा पाउने पालिकाको विश्वास रहेको छ ।
वैघा – रिडी कालोपत्रे सडकखण्डको उद्घाटन
अर्थमन्त्री पौडेलले वैघा – रिडी अन्तर्गतको १७ किलोमिटर कालोपत्रे सडकखण्डको समेत उद्घाटन गरेका हुन् ।
क्याब/सगरमाथा जेभी, काठमाडौंले २७ करोड ४२ लाख ३६ हजार ८०८ रुपैयाँ २० पैसाको लागतमा उक्त कालोपत्रे सडक निर्माण सम्पन्न भएको हो ।
यो सडक कालीगण्डकी करिडोरसंग जोडिने भएकोले यहाँका जनता छिटोछरितो बजारको पहुँचसंग जोडिने छन् ।
कार्यक्रममा पूर्वमन्त्री पद्मा कुमारी अर्याल, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्रकुमार थापालगायतले बोलेका थिए ।