Syangja Dainik Media
उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण
बीउपाठी तथा बोका वितरण गरिँदै ।

स्याङ्जाको वालिङ नगरपालिका –१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अर्न्तगत भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै वडा नं. १ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताए । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उनको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाहरु उत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङले बताए ।

बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उनको भनाई छ । डाक्टर बस्यालले बाख्रा पालनका क्रममा आईपर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारी समेत गराएका थिए ।

कार्यक्रम अन्तर्गत  साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांश सदस्यहरु दलित महिला रहेका छन् । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरु शोभाकान्त काफ्ले, सम्भव अर्याल, खिना काफ्ले, समूह की अध्यक्ष सुधा बिकलगायतले बाख्रा पालन र वडा कार्यालयले गरिरहेको क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।

वालिङ नगरपालिकाको वडा नं. १ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दैआएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update