Syangja Dainik Media
पुतलीबजारका किसानलाई बोयर जातका बोका वितरण
बोयर जातका बोका वितरण गरिँदै

पुतलीबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका बाख्रा पालक किसानलाई बोयर जातका बोकाहरु वितरण गरिएको छ ।

आर्थिक बर्ष २०८१/८२ को वार्षिक नश्ल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बोका वितरण गरिएको हो । नश्ल सुधार गरी उत्पादनमा वृद्धि गर्ने उदेश्यले बोयर जातका बोकाहरु वितरण गरिएको हो । नगरपालिकाले आवेदन माग गरेपश्चात् १८ जना बाख्रापालक किसानलाई बोका प्रदान गरिएको हो ।

बोका प्रदान गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले पशुपालक कृषकहरुलाई उद्यमशिलतामा जोड्ने अभिप्रायका साथ उन्नत जातका बोका वितरण गरिएको बताए । रेग्मीले आफ्नो समुदायमा सुपथ मुल्यमा मासु बिक्रीवितरण गर्न समेत लाभान्वित कृषकहरुलाई अनुरोध गरे । नगर प्रमुख रेग्मीले कुनै पनि आग्रह पूर्वाग्रह नराखिकन बोयर बोका वितरण गरिएको बताए ।

कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, पशु सेवा शाखाका डा. अनिल गौतम, कास्कीका बाख्रापालक किसान दुर्गाबहादुर गुरुङलगायतले बाख्रापालन गरी राम्रो आम्दानी लिन सकिने बताए ।

नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पशु सेवा शाखा प्रमुख पुष्पराज अधिकारीले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update