विशेष धार्मिक महत्त्व बोकेको वालिङ् नगरपालिका-८ मा रहेको गर्हौँकालिका मन्दिर प्रसिद्ध बन्दै गएको छ। मन्दिरमा आवतजावतका लागि सडक तथा अन्य पूर्वाधार निर्माण भएसँगै दर्शन गर्न आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको हो।
गर्हौँकालिका मन्दिर बाइसे चौबिसे राजाले परापूर्वकालदेखि आस्थाको केन्द्र मान्दै आएको उक्त मन्दिरमा शाह वंशीय राजाले समेत पूजा गर्दै आएको भेटिन्छ । समुन्द्री सतहदेखि झन्डै एक हजार ५९६ मिटरको उचाइमा अवस्थित गर्हौँकालिका मन्दिर क्षेत्र बाइसे चौबिसे राजाले धार्मिक क्षेत्रको विशेष रूपमा मान्दै आएका थिए।
यहाँको पुरानो मन्दिर आजभोलि सडक तथा अन्य पूर्वाधार निर्माण भएसँगै विभिन्न ठाउँबाट दर्शन गर्न आउनेको संख्या बढ्न थालेको छ। सिद्धार्थ राजमार्गको वालिङदेखि करिव १० किलोमिटरमा रहेको गर्हौँकालिका मन्दिरमा बडादसैं तथा चैते दसैंमा धुमधामका साथ बाजागाजासहित पूजा हुने गर्छ। यो चाडमा हजारौं दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ।
पुराना पूर्वाधारका साथै यहाँ आधुनिक भौतिक पूर्वाधार निर्माण भएका छन्। भगवती मन्दिर, कालिका मन्दिर, सुविधासम्पन्न अतिथिगृह, खानेपानीको सहज, कोतघर निर्माण गरिएको छ। हेलिप्याड, रङ्गशाला, सभा हल, ढुङ्गेधारा, धर्मशाला, चमेनागृह, शौचालय, पक्की सडकमार्ग तथा पक्की पदमार्ग, दृश्यावलोकन केन्द्र, प्रवेशद्वार, मन्दिर परिसरमा ढुङ्गा तथा टायल छाप्ने लगायतका काम भएको गर्हौँकालिका धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले बताउनुभयो ।
मन्दिर परिसरमा परिक्रमा गर्न चक्रपथ निर्माण गरिएको छ भने काफलडाँडाबाट दुई किमी आठ सय मिटर सडक ढलान तथा कालोपत्रे गरिएको छ। २०६४ सालबाट गर्हौँकालिका धार्मिक तथा पर्यटकीय केन्द्र बनेसँगै सडक, खानेपानी, भक्तजन बस्ने ठाउँ निर्माणले मुहार नै फेरिएको पुजारी पोकान्त उपाध्यायले बताउनुभयो । यहाँबाट उत्तरतर्फका दर्जनौँ हिमशृङ्खला र कालीगण्डकीको दृश्य देखिन्छ। यो मन्दिरमा पूजा गरेर मागेको वर पूरा हुने धार्मिक विश्वासले पनि दर्शनार्थीको भिड लाग्ने गरेको हो।
नेपाल एकीकरणका जग राणा भूपालसिंहका दुई छोरामध्ये जेठा छोरा जयन्त सिंहको भागमा भिरकोट, गर्हौँकोट र ढोर गरी तीन वटा राज्य रहेको थियो। जेठा जयन्तसिंह खाँणका पनि दुई छोरामध्ये जेठा सूर्य खाँणको अधीनमा भिरकोट राज्य स्थापना गरी कान्छा दशरथ खाँणको भागमा गर्हौँकोट र ढोर राज्य थियो। ११ औं पुस्तासम्म गर्हौँकोटमै मुकाम र दरबार खडा गरी राज्य गरिएको थियो। ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वको स्थान १५५२ मा गर्हौँकालिका देवीको प्राणप्रतिष्ठा गरिएको थियो। वैदिक विधि, तान्त्रिक विधि र प्राकृत विधिद्वारा देवीको मन्दिरमा पूजाअर्चना गर्ने चलन निरन्तर चल्दै आएको छ। यस मन्दिरको गजुर सुनको बनाइएको छ भने सबै कलाकृति पुरानो कलाशैलीमा निर्माण गरिएको छ