Syangja Dainik Media
ऐतिहासिक काल्खु मेलाः खुल्ला नृत्य प्रतियोगितामा अनुष्का च्याम्पियन

स्याङ्जाको पुतलीबजार नगरपालिका – ९ काल्खुमा जारी ऐतिहासिक काल्खु मेलामा भएको खुल्ला नृत्य प्रतियोगितामा कोल्माकी अनुष्का गुरुङ च्याम्पियन भएकी छिन् । 

जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पुर्णिमा(३० गते)देखि सञ्चालन भएको मेलामा आयोजित खुल्ला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुष्का प्रथम भएकी हुन् ।

यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे ।

खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुष्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।

उनका अनुसार म्युजिकल चियर प्रतियोगितामा निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो ।

भलिबलतर्फ पहिलो चरणकै खेल जारी 

मेलामा जारी पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै तीन खेल सम्पन्न भए । बुधबार भएको पहिलो खेलमा भोर्लेले नाम्चेलाई २–० को सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले भोर्लेले जित हात पार्‍यो ।

दोस्रो खेलमा थामडाँडाले दुर्गेलाई २–० को सोझो सेटमा हरायो । थामडाँडाले पहिलो सेट २५–१५ र दोस्रो सेट २७–२५ ले जितेको थियो ।

यसैगरी, बुधबार भएको अन्तिम खेलमा कोल्माले माथिल्लो काल्खुलाई २–१ को सेटमा पराजित गर्‍यो । कोल्माले पहिलो सेट २०–२५ ले जितेपनि दोस्रो सेट २५–२३ ले गुमाएको थियो । निर्णायक तथा तेस्रो सेटमा फेरि पुनरागमन गर्दै कोल्माले २७–२५ ले जितेको थियो ।

आज (बिहीबार) भएको पहिलो खेलमा लामागाउँले कौढुंगालाई २–० को सोझो सेटमा पराजित गर्‍यो ।
 
पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लामागाउँले जित हात पार्‍यो । 
 
यसैगरी दोस्रो खेलमा ओरस्टेले काल्खु पोखरा सम्पर्क मञ्चलाई २–० को सोझो सेटमा हरायो ।
 
ओरस्टेले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२३ ले जित निकाल्दै ओरस्टे अघिल्लो चरणमा प्रवेश गर्‍यो  । 
 
बाँकी खेलहरु प्रतिकुल मौसमका कारण स्थगित भएको क्लबका अध्यक्ष रानामगरले बताए । 
 
भोलि (शुक्रबार) पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।

अध्यक्ष रानामगरका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ भने तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।

सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update