
स्याङ्जा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । चोरीको मोटरसाइकलसहित शुक्रबार पक्राउ परेका कास्की पोखरा महानगरपालिका वडा नं. – २३ पुम्दीभुम्दीका २९ वर्षीय जितु विक र वडा नं. – २२ घाँटीछिनाका १९ वर्षीय राम सुनारलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार सार्वजनिक गरेको हो ।
ती दुईजनाले यहाँको पुतलीबजार नगरपालिका – ३ ढडुवाका दिपक चन्द्र गौतमले आफ्नै घर अगाडि पार्किङ गरेर राखेको ग २४ प ६९१२ नम्बरको २२० पल्सर मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
गौतमले आफ्नो मोटरसाइकल बिहीबार राति चोरी भएको भन्दै प्रहरीलाई खोजतलासका लागि निवेदन दिएका थिए । शुक्रबार साँझ फेदीखोला गाउँपालिका – १ नैखु अयरपानीबाट अस्थायी प्रहरी पोष्ट मट्टीखानबाट खोजतलासमा खटिएको प्रहरीले टोलीले चोरी भएको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।
पक्राउ परेका दुईजनालाई चोरी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।