Syangja Dainik Media
पत्रकारविरुद्ध प्रशासनले दर्ता गरेको उजुरीप्रति महासंघको सीडीओलाई ध्यानाकर्षणपत्र, प्रशासनले उजुरीलाई काउन्सिल पठायो

पत्रकारले लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता गरिएको उजुरी र सो उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयद्वारा जिल्ला प्रहरी कार्यालयलाई कारबाहीको लागि जारी गरिएको पत्रप्रति नेपाल पत्रकार महासंघ स्याङ्जाले सीडीओलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार नेपाल पत्रकार महासंघ स्याङ्जाले ध्यानाकर्षण भएको जनाउँदै उक्त पत्र सीडीओलाई बुझाएको हो ।

जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले गत फागुनमा सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवको गतिविधिको विषयमा नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य तथा आँधीखोला एक्सप्रेस डटकम अनलाईन पत्रिकाका सञ्चालक रोशन लामिछानेले लेखेको समाचारलाई लिएर संघले जिल्ला प्रशासन कार्यालयमा स्याङ्जामा उजुरी दिएको थियो ।

समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी वा ध्यानाकर्षण गर्ने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवस्थामा सामान्य कुरा समेत ख्याल नगरी तत्कालीन प्रजिअ सुनिता नेपालले आफ्नो क्षेत्राधिकार बाहिर गएर कारबाहीको लागि परिपत्र गरेकी थिइन् ।

सोही उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङजाले प्रेस काउन्सिललाई पत्राचार समेत गरेको छ ।

पत्रकार महासंघ स्याङ्जाले उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङजाले प्रेस काउन्सिललाई पत्राचार गर्नु, जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाही गर्नुहुन भनेर तोकादेश गर्नु र प्रशासनमा उजुरी दर्ता गरीनु सरासर गलत भएको जनाएको छ ।

समाचारमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी प्रावधान रहँदासमेत सामान्य प्रक्रियालाई बेवास्ता गर्दै प्रशासनिक संयन्त्रमा उजुरी दर्ता गर्नु र सो उजुरीका आधारमा प्रहरी निकायलाई निर्देशन जारी गर्नु प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको जिकिर गर्दै यस विषयमा पत्रकार महासंघ गण्डकी, प्रेस चौतारी नेपाल स्याङ्जा र प्रेस सेन्टर नेपाल स्याङ्जाले समेत ध्यानाकर्षण पत्र जारी गरेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update