Syangja Dainik Media
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ

स्याङ्जाको गल्याङ नगरपालिका – १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा अवैध रुपमा भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद भएको छ ।

प्रहरीले बिल नभएको ५० केजी तौलको चिनीका २१० बोरा, ५ केजीको भुजाका ३९ बोरा र ३० केजीको केराउका १८ बोरा बरामद गरेको छ ।

सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु २ ख १९२१ नम्बरको मिनि ट्रकबाट अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार बिहान साढे एक बजे चेकजाँचका क्रममा अवैध सामान भेटिएपछि ट्रक, चालक र सहचालकहरुलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

पक्राउ पर्नेमा चालक रुपन्देही सुद्योधन गाउँपालिका वडा नम्बर – ३ का २४ वर्षीय वसन्त परियार र सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर – ४ का ४० वर्षीय सुमन वि.क. र रुपन्देही सियारी गाउँपालिका वडा नम्बर – ६ का २३ वर्षीय दिप्सन सुनार रहेका छन् । 

प्रहरीका अनुसार बरामद गरिएका सामान र पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update