
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण गरिएको छ । यहाँका ७६ जना पुरुष र ४ जना महिला गरी ८० जना कैदीबन्दीहरुको मनकामना आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा नि: शुल्क आँखा परीक्षण गरिएको हो ।
पुतलीबजार नगरपालिका र लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिस एण्ड सोलुसन प्रालिको आर्थिक सहयोग तथा अधिवक्ता अनन्त रेग्मीको सहकार्यमा भएको सो परीक्षणमा दृष्टि विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए ।
परीक्षण गरिएका मध्येमा आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्था नरहेको मनकामना आँखा उपचार केन्द्रका सञ्चालक एवं दृष्टि विशेषज्ञ दिपक विकले जानकारी दिए ।
उनका अनुसार आँखा परीक्षण गरिएकोमा उमेर अनुसार टाढा/नजिकको पावर कम, मासु पलाएको, सुख्खा तथा मौसम अनुसार आँखाको एलर्जी भएको पाइएको छ ।
परीक्षणमा आँखाका समस्या भएका ४६ जनालाई चस्मा र आवश्यकता अनुसार औषधि नि: शुल्क वितरण गरिएको विकले बताए ।