स्याङ्जाको चापाकोट नगरपालिकामा सकेट बम विष्फोट हुँदा ४५ वर्षीय पूर्वसैनिक गोविन्द पुरी घाइते भएका छन् ।
शनिबार दिउँसो घरको सामान ओसारपसार गर्ने क्रममा बम विष्फोट हुँदा चापाकोट -४ मल्याङ्कोट पुरीगाउँका पूर्वसैनिक पुरी आँखा, खुट्टा लगायत शरीरका विभिन्न ठाउँमा बमको छर्रा लाग्दा घाइते भएका हुन् ।
घाइते पुरीको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
दुई वर्ष अगाडि अवकाश लिएका पूर्व नेपाली सैनिक पुरीको घरमा बम कसरी रहेको भन्ने कुरा खुलिनसकेको प्रहरीले बताएको छ । घटनाको भने पुरी स्वयंले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घाइते पुरीको अवस्था सामान्य रहेको जनाएको छ भने बम विष्फोट हुँदा घाइते पुरीको कच्ची घरमा समेत क्षति पुगेको छ ।