स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ लिगमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा प्रवेश गर्न कालीगण्डकी र विरुवा गाउँपालिका, पुतलीबजार र भीरकोट नगरपालिका सफल भएका छन् ।
पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहेकोमा लिगको पहिलो चरणबाटै वालिङ् नगरपालिका, हरिनास गाउँपालिका र आँधीखोला गाउँपालिका बाहिरिएका थिए । गल्याङ र चापाकोट नगरपालिका, फेदीखोला र अर्जुनचौपारी गाउँपालिका भने क्वाटर फाइनलबाट बाहिरिएका हुन् ।
स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिताको सुरु भएको थियो भने प्रतियोगिता कार्तिक ५ गतेसम्म चल्नेछ ।
'समृद्ध स्याङ्जाको लागि विश्व अभियान' भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने छ ।